
काठमाडौं । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ ।
भारतको नीतिगत कडाइका कारण वार्षिक पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटमा परेको व्यवसायीले बताएका छन् । नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गएको वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो । नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ । अहिले चिया निर्यातको मुख्य सिजन हो । उहाँकाअनुसार अहिले झण्डै पाँच लाख किलो चिया निर्यातका लागि तयारी अवस्थामा छ । तर भारतीय पक्षको नयाँ र कडा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजान सकेका छैनन् ।
दुई हप्ताभन्दा लामो समयदेखि एक पोका चिया पनि निर्यात हुन नसकेको अध्यक्ष पराजुलीले बताउनुभयो । यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एक पटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि त्यही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो । तर, नयाँ नियमअनुसार काँकडभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानीट्ङ्की भन्सार प्रवेश गर्ने बित्तिकै हरेक ट्रकको चियाको नमुना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्ने भएको छ । प्रतिट्रक नमुना परीक्षणका लागि १८ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्ने हुन्छ ।
भारतीय प्रयोगशालाले १४ दिनभित्र अनलाइन रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा त्यो चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउनसमेत नदिई जफत गरिने कडा प्रावधान राखिएको छ । यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यातको ढोका बन्द हुने अवस्था आएको चिया व्यवसायीले बताएका छन् । नेपाली चियाको मुख्य बजार भारत हो । चिया क्षेत्रमा देखिएको गैरभन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग अविलम्ब ‘जिटुजी’ संवाद थाल्नुपर्ने नेपाल चिया उत्पादक सङ्घको माग छ ।
नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चिया विश्व बजारमा गुणस्तरका लागि लोकप्रिय मानिन्छन् । तर, प्रमुख बजार भारतमै नीतिगत अवरोध सिर्जना हुँदा किसानदेखि ठूला उद्योगीसम्म र यसमा आश्रित लाखौँ श्रमिकको जीविकोपार्जन सङ्कटमा परेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा २० हजार ६०२ हेक्टर भूभागमा रहेको चिया बगानबाट दुई करोड ६१ लाख २३ हजार १११ किलो तयारी चिया उत्पादन भएको थियो ।
नेपालबाट २०८१/८२ मा चार अर्ब ५९ करोड आठ लाख ५६ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो । चिया उत्पादनमा १५ हजारभन्दा धेरै साना किसान प्रत्यक्ष सहभागी छन् । एक लाख श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् ।


