
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज मलेसियासँग भएको पहिलो टी–२० खेलमा विजयी भएको छ ।
घरेलु टोलीसँगको दुई वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ८ विकेट गुमाएर भेट्टायो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया १६ ओभर ५ बलमा ६७ रनमा अलआउट भएको थियो । नेपालकी पूजा महतोले ३, मनीषा उपाध्याय र रिया शर्माले दुई/दुई र कविता कुँवर र सीता मगरले एक/एक विकेट लिए ।
अर्को खेल पर्सि शुक्रबार हुनेछ । एसिसी महिला प्रिमियर कप र २०औँ एसियन खेलकुद प्रतियोगिताको छनोट खेलअघि नेपालले मलेसियासँग टी–२० शृङ्खला खेलेको हो ।


