२०८३ जेठ ४ सोमवार , ०७:३८:४१ बजे

Sajhamanch
'

अव्यवस्थित ब्यानरले बिरूप बन्दै टीएमजेको प्रवेशद्वार आरआर गार्डेन

सोमवार, जेठ ४, २०८३

धनकुटा । गुराँसको राजधानी तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण तीनजुरे-मिल्के-जलजले (टीएमजे) को प्रवेशद्वार आरआर गार्डेन पछिल्लो समय व्यानरले कुरूप बन्दै गएको छ ।

आरआर गार्डेनको प्रवेशद्वारमा राखिएका ब्यानरले पर्यावरणीय सन्तुलनमा असर पुर्‍याउनुका साथै गार्डेनको सुन्दरतामा पनि ह्रास आएको छ । गेटको वरिपरि राखिएका ब्यानरले जैविक विविधतामा असर पुर्‍याउनका साथै गार्डेनको आकर्षण घटाएको स्थानीय छिरिङ लामाले बताउनु भयो ।

‘आरआर गार्डेन गुराँसको राजधानीको मुख्य आकर्षण र प्रवेशद्वार हो, पछिल्लो समय बढ्दै ब्यानर मोहले सुन्दरता हराउँदै गएकाले हटाउनु पर्ने देखिएका छ’, उहाँले भन्नुभयो, ‘सफा र रमाइलो देखिनुपर्ने ठाउँ अहिले प्रचार सामग्रीले भरिएको जस्तो देखिन्छ, पर्यटक आउने ठाउँलाई व्यवस्थित बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’ लामाले आफू सानै हुँदा ताल धेरै सफा देखिने गर्दथ्यो भन्दै आजभोलि राखिएको व्यानरले बिरूप देखिन थालेको बताउनु भयो ।

आरआर गार्डेनमा ब्यानर राख्ने काम नियन्त्रण गर्न केही पहल गरिरहेको भए पनि पर्याप्त काम नभएको चैते सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर खड्काले बताउनु भयो । उहाँले धेरै ब्यानरहरू जानकारीमुलक रहेकाले केही-केही मात्हरै टाउनु पर्ने अवस्थामा रहेको बताउनु भयो ।

उहाँले गार्डेनलाई सुन्दर रुप दिने योजना बनाइएको भन्दै तत्काल उक्त योजना कार्यान्वयन हुने जानकारी दिनुभयो । गुराँसको राजधानीको रुपमा परिचित तीनजुरे-मिल्के-जलजले क्षेत्रको दीर्घकालीन रुपमा संरक्षित गर्न योजनावद्ध रूपमा काम गर्दै जैविक विविधताको संरक्षण गर्नुपर्ने माग हुन थालेको छ । तेह्रथुमको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले सफा सुन्दर देखाउने के गर्दा हुन्छ त्यही गर्न भनिसकेको बताउनु भयो ।

आरआर गार्डेन पछिल्लो समय घुमफिर, भेटघाट र फोटो खिच्ने लोकप्रिय स्थानका रुपमा परिचित हुँदै गएको छ । हरियाली वातावरण, खुला स्थान र आरामदायी वातावरणका कारण दैनिक रूपमा स्थानीय युवायुवतीदेखि परिवारसहित आउने आगन्तुकहरूको संख्या बढ्दो छ ।

तर, गार्डेनका रेलिङ, प्रवेशद्वार, पर्खाल तथा विभिन्न संरचनामा अनियन्त्रित रूपमा राखिएका फ्लेक्स र व्यानरले समग्र क्षेत्र अव्यवस्थित देखिन थालेको गुनासो बढेको छ । टीएमजेको माथिल्लो क्षेत्र जान नसक्ने तथा गुराँस हेर्न चाहाने आगन्तुकहरु आरआर गार्डेनसम्म आएर फर्कने गरेका छन् ।

गार्डेनमा घुम्न आउने आगन्तुकहरुले पनि सार्वजनिक स्थलमा अत्यधिक विज्ञापन सामग्री राखिँदा फोटो खिच्न तथा अवलोकन गर्न असहज हुने बताएका छन् । स्थानीयवासीले सार्वजनिक स्थलमा प्रचार सामग्री राख्न स्पष्ट मापदण्ड बनाउनुपर्ने माग गरेका छन् । निश्चित स्थान तोकेर मात्रै व्यानर राख्ने व्यवस्था गर्नुपर्ने तथा नियम उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन् ।

सरोकारवाला निकायले पर्यटकीय तथा सार्वजनिक क्षेत्रको सौन्दर्य संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ । व्यवस्थित प्रचार प्रणाली लागू गर्न सके आरआर गार्डेनको आकर्षण जोगिनुका साथै वातावरणीय स्वच्छता कायम गर्न पनि सहयोग पुग्ने स्थानीयको विश्वास छ ।

संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा पर्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रलाई गुराँसको राजधानी भनिन्छ । तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन्‌ ।

चैत महिनाको मध्यदेखि जेठ महिनाको मध्यसम्म टीएमजे भ्रमण उपयुक्त मानिन्छ । किनकी, यसबेला ढकमक्क फुल्ने गुराँसले टीएमजे दुलहीझैं सजिएको हुन्छ । वसन्त ऋतुको आगमनसँगै रंगीचंगी गुराँसले सबैको मन आनन्दित बनाउँछ ।

तेह्रथुम वसन्तपुरबाट शुरू हुने टीएमजे घुर्बिसे, पाँचपोखरी, फेदी, चौकी, मंगलबारे, गुफा, सुके र जोरपोखरी हुँदै ताप्लेजुङसम्म पुग्ने मार्गको दायाँ–बायाँतर्फ गुराँस देखिन्छ । मार्गमै भेटिने लामपोखरी र गुफापोखरीलगायत साना–ठूला पोखरी थप आकर्षण हुन । यहाँबाट मौसम सफा हुँदा ताप्लेजुङ तर्फको कञ्चनजंघा, कुम्भकर्ण तथा संखुवासभा तर्फको मकालु र चाम्लाङको दृश्यावलोकन गर्न पाइने पनि अर्को विशेषता हो ।

सम्बन्धित खबर