२०८३ वैशाख २९ मङ्गलवार , १०:०६:१० बजे

Sajhamanch
'

अर्जुनधारा– ६ स्थित बालकल्याण आवि व्यवस्थापनको नेतृत्व टुम्मनाथलाई

मङ्गलवार, वैशाख २९, २०८३

अर्जुनधारा । नयाँ सरकारले केही नेपाल ऐन संशोधन अध्यादेश २०८३ कार्यान्वयन गरी शिक्षा नियमावलीमा परिमार्जन गरेपछि अर्जुनधारा– ६ स्थित बालकल्याण आधारभूत विद्यालयमा आजदेखि सोही वडाका जनप्रतिनिधि टुम्मनाथ काफ्लेलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको छ।

तीन वर्षे कार्यकालका लागि क्रियाशील विद्यालय ब्यवस्थापन समितिले दुईवर्षे अवधि पूरा गरेकोले बाँकी एक वर्षका लागि काफ्लेलाई अध्यक्ष चयन गरिएको हो ।

गत बैशाख २० गते राजपत्रमा प्रकाशित सूचनाले विद्यालय व्यवस्थापन समिति अभिभावकबाट निर्वाचित ४ जना, शिक्षक प्रतिनिधि २ जना र जनप्रतिनिधि १ जना गरी ७ जनमात्रको हुनुपर्ने उल्लेख छ ।

नयाँ ब्यवस्थापन समितिमा अध्यक्ष टुम्मनाथ काफ्ले र सदस्यहरुमा मदनकुमार श्रेष्ठ, संगीता दियाली, रोशनी मण्डल, प्रकाश तामाङ तथा शिक्षक प्रतिनिधिमा मदनकुमार निरौला र सदस्य सचिवमा प्रधानाध्यापक डम्बर यादव रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष काफ्लेले छोटो समयका लागि भए पनि जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको र उक्त अवधिमा विद्यालयको हित, सकारात्मक परिवर्तन र शैक्षिक गुणस्तर वृद्धिका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोही अवसरमा विद्यार्थीहरूको रुचि र अभिभावकहरूको चाहनालाई मध्यनजर गर्दै शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउने उद्देश्यले जेठ १ गतेदेखि साप्ताहिक रूपमा नृत्य सीप विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। उक्त कार्यक्रमका लागि नृत्य शिक्षक राख्ने निर्णय पनि गरिएको प्रधानाध्यापक यादवले बताए ।

निवर्तमान अध्यक्ष सुरेश प्रसाईंले नवनिर्वाचित अध्यक्ष तथा सदस्य पदाधिकारीहरूलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्षबाट आफू बाहिरिए पनि कुनै न कुनै रुपबाट सदैव विद्यालयको उन्नयनमा लागिरहने बताए ।

विगत २ वर्षदेखि सेवारत ब्यवस्थापन समितिका अध्यक्षसहितलाई विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा पुर्‍याउनुभएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै विदाई गरेको छ ।

उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका साथै शिक्षक तथा कर्मचारीहरूको उपस्थिति थियो।

सम्बन्धित खबर