
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं। १० का टोल विकास संस्थामा आबद्ध महिलालाई लक्षित गरी कानुनी साक्षरता सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न गरिएको छ।
नारी सञ्चार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को सहयोगमा सञ्चालित कार्यक्रममा वडा अन्तर्गत रहेका २७ वटा टोल विकास संस्थाका महिलाहरूको सहभागिता थियो।
कार्यक्रममा अधिवक्ता कविता बाँस्तोलाले महिलाका कानुनी अधिकार, घरेलु हिंसा, लैंगिक समानता, सम्पत्ति अधिकार तथा विभिन्न कानुनी प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो। सहभागी महिलाहरूले दैनिक जीवनमा उपयोगी जानकारी प्राप्त भएको भन्दै कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए।
संस्थाका अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू दीपिका शिवा र धनमाया श्रेष्ठ, संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा निवर्तमान अध्यक्ष रेजिना गौतम लगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले शाब्दिक स्वागत र सञ्चालन सचिव दीपा पोखरेलले गर्नुभएको थियो।


