२०८३ वैशाख २४ बिहिवार , ०५:३२:३४ बजे

Sajhamanch
'

बसपार्क ५१ बिघा जग्गा विवाद : सांसद राना मगरमाथि प्रश्नैप्रश्न

बिहिवार, वैशाख २४, २०८३

झापा । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य इन्दिरा राना मगर आज (बिहीबार) बिहान बिर्तामोड–५ र अर्जुनधारा–११ स्थित बसपार्क क्षेत्र पुग्दा स्थानीयबासीको चर्को दबाब र प्रश्नको सामना गर्नुपरेको छ।

लामो समयदेखि रोक्का रहेको ५१ बिघा जग्गाको विषयलाई लिएर स्थानीयले प्रश्न तेर्स्याएपछि केही समय वातावरण तनावपूर्ण बनेको थियो।

सर्वोच्च अदालतको फैसलाका कारण उक्त क्षेत्रको ५१ बिघा जग्गाको किनबेच र नामसारी प्रक्रिया वर्षौँदेखि ठप्प छ। आफ्नो जायजेथा उपयोग गर्न नपाएको भन्दै आक्रोशित बनेका स्थानीयले जनप्रतिनिधिलाई फिल्डमै पाएपछि समस्या समाधानमा चासो नदेखाएको भन्दै प्रश्न गरेका थिए।

स्थानीयको प्रश्नबाट आक्रोशित बनेकी राना मगरले आफूले यस विषयमा सदनदेखि प्रधानमन्त्रीसम्म कुरा पुर्‍याएको दाबी गर्दै आफू पनि जनताकै प्रतिनिधि भएकोले जादुमयी ढंगले तुरुन्तै समस्या हल गर्न नसकिने बताउनु भयो।

छलफलका क्रममा उहाँले यो मुद्दा अहिले अदालतको प्रक्रियामा रहेकाले सरकारले पनि आँखा चिम्लेर निर्णय गर्न नसक्ने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “म तपाईँहरुकै प्रतिनिधि हुँ, तर मैले एक्लैले एक-दुई महिनामै सबै मिलाइदिन्छु भन्न सक्दिनँ। यो अदालतको प्रक्रियामा छ, हामीले भूमि मन्त्रालय र प्रधानमन्त्रीसँग समन्वय गरेर अघि बढ्नुपर्छ।”

उहाँले थप ५ जना प्रतिनिधि टोली लिएर काठमाडौँ आउन र आफूले सम्बन्धित निकायमा भेटघाटको व्यवस्था मिलाइदिने प्रतिबद्धता समेत जनाउनु भयो।

स्थानीयले भने निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। बिर्तामोड र अर्जुनधाराको सिमानामा पर्ने यो ५१ बिघा जग्गाको विवादले सयौँ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

उपसभामुख राना मगरले यसअघि पनि सदनमा ५१ बिघाको समस्याबारे आवाज उठाएको स्मरण गराउँदै आफू पीडितकै पक्षमा रहेको र गारामनी लगायतका अन्य क्षेत्रमा पनि यस्तै समस्या रहेकोले प्याकेजमै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित खबर