
काठमाडौं । बिहीबार सेयर बजार ६.९४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २७१८ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकम अंक पनि हो । केही दिनयता बजारको उतारचढाव न्यून भएको छ ।
अघिल्लो दिन बुधबार १.६४ अंक घटेको थियो भने मंगलबार ८ अंक बढेको थियो । कारोबार रकम ३ अर्ब मुनि खुम्चिएको छ । आज जम्मा २ अर्ब ९३ करोडको कारोबार भयो । यो कारोबार रकम गत फागुन २५ यताकै न्यून हो । सो दिन बजारमा सर्किट ब्रेकर लाग्दा कारोबार रकम न्यून हुन पुगेको थियो ।
कारोबार रकम केही दिनदेखि घट्दै आएको छ । अघिल्लो दिन ३ अर्ब १९ करोडको कारोबार भएको थियो । १५५ कम्पनीको मूल्य बढेको छ भने १०२ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
व्यापार समूह सबैभन्दा धेरै १.५७ प्रतिशत बढ्यो भने अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३३, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.२०, जीवन बीमा ०.३०, माइक्रोफाइनान्स ०.३५, अन्य ०.८३ प्रतिशत बढे ।
निर्जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.०८, लगानी ०.०७ र फाइनान्स ०.०८ प्रतिशत घटे भने हाइड्रोपावर समूह स्थिर रह्यो । स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै १२.१९ प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्तको ४.२९, पियोर इनर्जीको ४.२४, त्रिशूली जलविद्युतको ३.८५ प्रतिशत बढ्यो ।
फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १३.२४ प्रतिशत घट्यो । त्यस्तै अपरलोहोरे खोला हाइड्रोपावरको ९.१२, मेन्छियाम हाइड्रोपावरको ४.४९, शिखर पावरको ३.८२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र ङादी ग्रुप छन् ।


