२०८३ वैशाख २४ बिहिवार , ०४:४५:३३ बजे

Sajhamanch
'

आतङ्कवादविरुद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहन्छ : मोदी

बिहिवार, वैशाख २४, २०८३

झापा । भारत र पाकिस्तानबीच गएको वर्ष भएको सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा मोदीले भारत आफ्नो सुरक्षासम्बन्धी नीतिमा ‘पहिलेजस्तै अडिग’ रहेको भन्दै पहलगाम आक्रमणका दोषीलाई जवाफ दिइएको दाबी गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गएको वर्ष अप्रिल २२ मा भारत प्रशासित काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको आक्रमणपछि दुई आणविक शक्ति सम्पन्न छिमेकी देशबीच सम्बन्ध तीव्र रूपमा बिग्रिएको थियो ।

भारतले त्यो आक्रमणमा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको आरोप लगाएको थियो, तर पाकिस्तानले त्यसलाई अस्वीकार गरेको थियो । यो घटनापछि दुई देशबीच कूटनीतिक तनावका साथै प्रत्यक्ष सैन्य टकरावसमेत बढेको थियो ।

भारतले पहलगाम आक्रमणको जवाफ दिन भन्दै गएको वर्षको मे ७ मा सैन्य कारबाही शुरू गरेको थियो । त्यसपछि दुवै देशबीच हवाई आक्रमण, ड्रोन आक्रमण तथा सीमावर्ती क्षेत्रमा भारी मोर्टार प्रहार भएका थिए । भारतीय सेनाले सञ्चालन गरेको यो कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको थियो ।

आज यो अभियानको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री मोदीले निकाल्नुभएको वक्तव्यमा भारत आतङ्कवादविरुद्धको सङ्घर्षबाट पछि नहट्ने बताउनुभएको हो । मोदीले भारतीय सेनाको प्रशंसा गर्दै राष्ट्रले सैनिकहरूको ‘साहस र वीरता’ लाई सम्मान गर्ने बताउनुभयो । उहाँले देशको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

दुवै देशबीच बढ्दो सैन्य तनाव अन्ततः मे १० मा युद्धविराममा पुगेर रोकिएको थियो । एक वर्षपछि पनि भारत–पाकिस्तान सम्बन्ध सामान्य बन्न सकेको छैन ।

सीमापार आतङ्कवाद, काश्मीर विवाद र सैन्य अविश्वासका कारण दुवै देशबीच तनाव कायम रहेको विश्लेषकहरूको भनाइ छ । मोदीको पछिल्लो वक्तव्यले भारतले सुरक्षा र आतङ्कवादको मुद्दामा आफ्नो कठोर नीति परिवर्तन नगर्ने स्पष्ट सङ्केत दिएको मानिएको छ ।

सम्बन्धित खबर