२०८३ वैशाख २० आइतवार , ०५:५५:०७ बजे

Sajhamanch
'

सगरमाथामा बाटो बनाउँदा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत हुन बाँकी

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणमा बाटो बनाउने क्रममा आइसफल डाक्टरले बेवारिसे शव फेला पारेका छन् ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव फेला परेको हो । हिउँले आधा पुरिएको अवस्थामा शव भेटिएको थियो ।

मुख्य आरोहण मार्गमा भेटिएको उक्त शवले सुरक्षा र वातावरणीय समस्या निम्त्याएपछि सरोकारवालाले व्यवस्थापनका लागि पहल थालेका थिए । पर्यटन विभागले संघलाई शव संकलन गर्न अनुरोध गरे अनुसार व्यवस्थापन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

सोही अनुसार संघले सगरमाथा आधार शिविरमा रहेका सरोकारवाला निकाय र बाटो बनाउन खटिएका आइसफल डाक्टरले समन्वय गरी शव व्यवस्थापनको काम गरेको बताएको छ ।

अध्यक्ष शेर्पाका अनुसार २९ अप्रिलका दिन संघले सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहयोगमा अनुभवी शेर्पा आरोही परिचालन गरी शव निकालेको थियो । उक्त शव १ मेका दिन आधार शिविरबाट हेलिकप्टर मार्फत लुक्ला ल्याइएको थियो ।

त्यसपछि शवलाई पोस्टमार्टम गर्न प्रहरीलाई हस्तान्तरण गरिएको थियो । शवलाई शनिबार बिहान काठमाडौं ल्याई थप अनुसन्धान र पहिचानका लागि शिक्षण अस्पतालमा बुझाइएको छ । शवको सनाखत हुन बाँकी रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर