
काठमाडौं । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न माग गर्दै अखिल नेपाल सुकुम्बासी संघले चरणबद्ध संघर्ष कार्यक्रम सार्वजनिक गरेको छ।
संघका अध्यक्ष अमर परियारले जारी गरेको अपिलमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन र सबै राजनीतिक दल, संघ–संस्था तथा जनसंगठनलाई सहकार्य र ऐक्यवद्धता जनाउन आग्रह गरिएको छ।
संघले पहिलो चरणअन्तर्गत वैशाख २० गतेसम्म पार्टी नेतृत्व र विभिन्न तहका नेताहरूलाई संघर्ष कार्यक्रमबारे जानकारी गराउँदै कार्यान्वयनका लागि पहल गर्ने जनाएको छ।
यसका साथै जनप्रतिनिधिहरूलाई फोन, मोबाइल र सामाजिक सञ्जालमार्फत् भूमिहीनको समस्या समाधानमा प्रतिबद्धता जनाउन आग्रह गरिने बताइएको छ।
वैशाख २० देखि ३० गतेसम्म दोस्रो चरणअन्तर्गत देशभर बैठक तथा भेला आयोजना गरी संघर्ष समिति गठन गरिने, विभिन्न सरकारी कार्यालयहरूमा ज्ञापनपत्र बुझाइने र जबरजस्ती उठिवासको विरोधमा अभियान सञ्चालन गरिने कार्यक्रम छ।
यस अवधिमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्यालयहरूमा समेत विरोधपत्र दर्ता गरिने जनाइएको छ।
संघले वैशाख ३१ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘राइट टु रिकल’ मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई पदबाट हटाउन माग गर्ने र सोही दिन मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने चेतावनी दिएको छ।
त्यसैगरी, जेठ १ गतेदेखि ७ गतेसम्म देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्दै जनप्रतिनिधिलाई फिर्ता बोलाउन आह्वान गरिनेछ। माग सम्बोधन नभए जेठ ७ गतेदेखि देशभर अनिश्चितकालीन आम हड्ताल गर्ने घोषणा संघले गरेको छ।
संघले जबरजस्ती उठिवास रोक्न, भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउन र संवैधानिक तथा मानव अधिकारको संरक्षण गर्न सरकारसँग माग गर्दै आन्दोलनका कार्यक्रम अघि बढाइएको जनाएको छ।



