
काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
१२ गते शनिबार रोशी खोलामा आएको बाढीले बिगारेको डाइभर्सन आइतबार प्रायः स्थानमा बनीसकेको भएपनि पुनः १३ गते आइतबार साँझको पानीले बनेका डाइभर्सन बगाएको थियो ।
राजमार्गको चिउरीबास, नार्के र चार सय बेशीमा आइतबार बनेको डाइभर्सन बगाएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाले बगाएका १३ स्थानका डाइभर्सनमध्ये ८ स्थानको डाइभर्सन निर्माण भए पनि आइतबार साँझको पानीले बिगारेको जानकारी दिए । पुनः आज (सोमबार) बिहानदेखि डाइभर्सन बनाउन सुरु भएको कार्कीको भनाइ छ ।
शनिबार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो भने सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।
प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आए क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी छ ।


