
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ स्थित ‘गन्तव्य डान्सबार’ मा आइतबार दिउँसो युवाहरूबीच समूहगत झै-झगडा र कुटपिट भएको छ।
२०८३ साल वैशाख १४ गते अन्दाजी दिउँसो ०१ः३० बजेको समयमा भएको उक्त विवादले उग्र रूप लिँदा दुई जना युवा घाइते भएका छन् भने प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो।
कुटपिटबाट मेचीनगर नगरपालिका वडा नं. १ बस्ने २० वर्षीय सिद्धार्थ शाही र सोही स्थानका ३० वर्षीय कर्ण राई घाइते भएका छन्।
शाहीको टाउकोमा चोट लागेको छ भने राईको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवैको अवस्था हाल सामान्य रहेको र उनीहरूको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा तीन जना युवाहरूलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा मेचीनगर-१२ का २१ वर्षीय निशान लामा, सोही ठाउँका २२ वर्षीय प्रशान्त लिम्बु र भद्रपुर नगरपालिका-८ का २२ वर्षीय नित्य राजवंशी रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।
यसैबीच, घटनामा संलग्न भई फरार रहेका अर्जुनधारा नगरपालिका बस्ने २० वर्षीय लाक्पा तामाङको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
डान्सबारमा भएको उक्त झगडाको मुख्य कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमाथि सोधपुछ गर्नुका साथै घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।


