
झापा । क्रियाशिल सदस्यता अद्यावधिक गर्दै राष्ट्र–राष्ट्रियता, लोकतन्त्र, संघीयता सबल बनाउने उद्देश्यले नेपाली कांग्रेसले गत बैशाख १ गतेबाट शुरु गरेको जरा अभियान अन्तरगत झापामा क्षेत्रस्तरीय प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रम जारी छ ।
झापाका पाँचवटा क्षेत्रमध्ये १, २, ३ र ४ मा क्षेत्रस्तरीय प्रविधिमैत्री अभिमुखीकरण सम्पन्न भएको छ भने सोमबार क्षेत्र नं–५ मा क्षेत्रस्तरीय अभिमुखीकरण कार्यक्रम हुने जनाइएकाे छ ।
झापा क्षेत्र नं–१ मा नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट जरा अभियानका लागि झापा प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्यमा शनिबार क्षेत्रस्तरीय अभिमुखीकरण सम्पन्न भएको थियाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले क्रियाशिल सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै पार्टीको नीति, सिद्धान्त, विचार र कार्यक्रमलाई कार्यान्वयन गर्दै अनुशासन पालना गर्ने वास्तविक क्रियाशिल सदस्यहरुको अद्यावधिक गर्न वडा तहबाटै अभियान थालिएको बताउनुभयो ।
नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझी, झापाका सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे, पूर्व उपसभापति राम कट्टेल, पूर्व सचिवद्वय प्रेम सम्बाहाम्फे र ताराविर कटुवाल, राधा कार्की, सुदय पनेरु लगायतले मन्तब्य राख्नुभएको थियो ।

क्षेत्र नं. १ मा यही बैशाख १६ गतेबाट वडातहमा क्रियाशिल सदस्यता अद्यावधिक कार्य थालिने क्षेत्रीय सभापति बुढाथोकीले जानकारी दिनुभयो ।
यसैगरी क्षेत्र नं–२ मा केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङवाको प्रमुख आतिथ्यमा प्रविधिमैत्री क्रियाशिल अद्यावधिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कन्दङ्वाले पार्टी, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संघीयतालाई बलियो बनाउने अभिप्रायले जरा अभियान शुरु गरिएको जानकारी गराउनुभयो ।
क्षेत्रीय सभापति खगेन्द्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका पूर्व केन्द्रीय सदस्य सरिता प्रसाई, झापा सभापति देउकुमार थेवे, कोषाध्यक्ष जलकुमार गुरुङ, अमृत बाँस्तोला लगायतले मन्तब्य राख्नुभएको थियो ।
सहभागीहरुले उठाएको जिज्ञाशाको जवाफ केन्द्रीय प्रतिनिधि कन्दङवाले दिनुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं. २ मा डिजिटल प्रविधिबाट क्रियाशिल सदस्यता अद्यावधिक कार्यका लागि सम्पूर्ण पूर्वतयारी पूरा गरेर आगामी बैशाख १९ गतेदेखि २५ गतेसम्म वडा–वडामा क्रियाशिल सदस्यता अद्यावधिक गर्ने कार्ययोजना बनाइएको क्षेत्रीय सभापति मैनालीले जानकारी दिनुभयो ।
क्षेत्र नं. ३ मा पनि जरा अभियान अन्तरगत आज क्षेत्रस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अमृत बाँस्तोलाले प्राविधिक विषयमा सहजीकरण गर्नुभएको थियो ।
क्षेत्रीय सभापति गणेश पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञाशाको जवाफ केन्द्रीय प्रतिनिधि कन्दङ्वाले दिनुभएको थियो ।
यसैबीच क्षेत्र नं. ३ मा यही बैशाख १७ गतेदेखि क्रियाशिल सदस्यता अद्यावधिक कार्य शुरु गरिने क्षेत्रीय सभापति पोखरेलले जानकारी दिनुभयो ।
यसैबीच झापा क्षेत्र नं. ४ मा पनि जरा अभियान अन्तरगत क्षेत्रस्तरीय अभिमुखीकरण सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्यमा अभिमुखीकरण सम्पन्न भएको हो ।
झापा सभापति देउकुमार थेवेले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रम क्षेत्रीय सभापति जयनारायण शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सजेश शिवाकोटीले प्राविधिक विषयबारे सहजीकरण गर्नुभएको कार्यक्रममा स्वागत क्षेत्रीय उपसभापति विनोद ढकालले गर्नुभएको थियो ।
क्षेत्र नं. ४ मा आगामी बैशाख १६ गते प्राविधिकहरुलाई प्रदेशक्षेत्रस्तरमा प्रशिक्षण सञ्चालन गरेर १७ गतेदेखि क्रियाशिल सदस्यता नवीकरण शुरु गर्ने तयारी गरिएको क्षेत्रीय सभापति शाहले जानकारी दिनुभयो ।
पार्टीको १५औं महाधिवेशनको पूर्वतयारी स्वरुप क्रियाशिल सदस्यता अद्यावधिक कार्य शुरु गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय समितिको यसअघिको बैठकले वडादेखि केन्द्रसम्मको महाधिवेशनको कार्यतालिका तय गरिसकेको छ ।
जसअनुसार वडा अधिवेशन भाद्र २ गते, पालिका अधिवेशन भाद्र ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन भाद्र १७ गते, क्षेत्रीय अधिवेशन भाद्र २४ गते निर्धारण गरिएकाे छ ।
यसरी नै, एकमात्रै क्षेत्र भएको जिल्ला अधिवेशन भाद्र २४ गते, १ भन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन असोज २ र ३ गते, प्रदेश अधिवेशन असोज ७ र ८ गते एवं १५औं महाधिवेशन असोज १६, १७, १८ र १९ गतेका लागि तय गरिएको छ ।


