
बिर्तामोड । एनी चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक बुट्टाबारी युनाइटेडले जितेको छ।
आज भएको फाइनल खेलमा धरानको फेयर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै बुट्टाबारी युनाइटेडले उपाधिमाथि कब्जा जमाउँदै ट्रफी आफ्नै घरमा राख्न सफल भएको हो।
बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा सम्पन्न उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दुवै पक्षले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्।
दोस्रो हाफमा भने बुट्टाबारीका प्रताप राई नायक बने। उनले खेलको ७६औँ र ८६औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई मजबुत अग्रता दिलाए। निर्णायक क्षणमा उत्कृष्ट प्रदर्शन गर्दै उनले बुट्टाबारीलाई उपाधिसम्म पुर्याए।
दुई गोलले पछि परेको धरानको फेयर एफसीले खेलमा फर्कने प्रयास गरेको थियो। अतिरिक्त समयमा कृष्ण राईले एक गोल फर्काउँदै गोलअन्तर घटाए पनि जितका लागि आवश्यक थप गोल गर्न नसक्दा फेयर एफसी उपविजेतामै सीमित बन्यो।
विजेता बनेसँगै बुट्टाबारी युनाइटेडले नगद २ लाख २२ हजार २२२ रुपैयाँसहित आकर्षक ट्रफी हात पार्यो। उपविजेता बनेको फेयर फुटबल क्लबले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्यो।
फाइनल खेलको प्लेयर अफ द म्याच बुट्टाबारीका अमित वन घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। बुट्टाबारीकै सुमित मैनाली उत्कृष्ट गोलकिपर बने। उनले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारे।
त्यस्तै, बुट्टाबारीका संजय नेपाल राइजिङ प्लेयर घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताभर ४ गोल गरेका फेयर एफसीका शुक्रराज तुम्रोकले हाइस्कोरर बन्दै नगद १० हजार रुपैयाँसहित ट्रफि पुरस्कार पाए।
बुट्टाबारी युनाइटेडका रोहित आचार्य प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
विजेता, उपविजेता तथा विभिन्न विधागत पुरस्कार प्राप्त गर्ने खेलाडीलाई आयोजक समितिका अध्यक्ष प्रविन राई, फाइनल खेलका प्रमुख अतिथि बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, टाइटल स्पोन्सर एनीका सञ्चालक सन्तोष थोप्रा, हरियाली सामुदायिक वनका अध्यक्ष जगतकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए।


