
काठमाडौं । नयाँ वर्ष २०८३ सुरु भएको पहिलो १३ दिनमै देशभर ४४५ वटा विपद्का घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १३ गतेसम्म भएका विभिन्न विपद्का घटनामा २३ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । १३ दिनको अवधिमा मात्रै २ सय २२ वटा आगलागीका घटना हुँदा ७ जनाको मृत्यु, २४ जना घाइते तथा २६२ परिवार प्रभावित भएका छन् । सुख्खा मौसम, बढ्दो गर्मी र मानवीय लापरबाहीका कारण आगलागी सबैभन्दा ठूलो विपद्का रूपमा देखिएको प्राधिकरणले जनाएको छ ।
त्यसपछि वन डढेलोका ११५ घटना रेकर्ड भएका छन् । वन डढेलोका घटनामा १ जनाको मृत्यु, १ जना घाइते र १७ परिवार प्रभावित भएका छन् । देशका विभिन्न वन क्षेत्रमा लागेको डढेलोले वातावरणीय क्षतिसँगै जनधनमा समेत असर पुर्याइरहेको छ।
९४ परिवार प्रभावित भएका छन् । विशेषगरी तराई–मधेश र केही पहाडी जिल्लामा हावाहुरीले घर, बाली र भौतिक संरचनामा क्षति पुर्याएको छ ।
चट्याङका २२ घटनामा ४ जनाको मृत्यु र १६ जना घाइते भएका छन् । प्रि–मनसुन सक्रिय भएसँगै चट्याङका घटनामा वृद्धि देखिएको प्राधिकरणले जनाएको छ ।
यसैबीच, सर्पदंशका २३ घटनामा १ जनाको मृत्यु र २२ जना घाइते भएका छन् भने जनावर आक्रमणका १६ घटनामा १ जनाको मृत्यु र १३ जना घाइते भएका छन् । ग्रामीण क्षेत्रमा सर्पदंश र जंगली जनावरको जोखिम बढ्दै गएको तथ्यांकले देखाएको छ ।
त्यस्तै, लेक लागेर २ जनाको मृत्यु भएको छ भने डुङ्गा पल्टिँदा २ जनाले ज्यान गुमाएका छन् । पहिरोका ४ घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार १३ दिनको अवधिमा भारी वर्षा, बाढी र अबसना (डुबान भौगोलिक क्षति) जस्ता मनसुनी प्रकृतिका विपद्का प्रारम्भिक संकेत पनि देखिन थालेका छन्, यद्यपि ती घटनाबाट मानवीय क्षति भने भएको छैन ।
प्राधिकरणले गर्मी र प्रि–मनसुनको समय भएकाले आगलागी, चट्याङ, हावाहुरी तथा सर्पदंशबाट विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
घर, वन तथा खेतबारीमा आगोको प्रयोग गर्दा सावधानी अपनाउन, चट्याङ पर्दा खुला ठाउँमा नबस्न, हावाहुरीको समयमा सुरक्षित स्थानमा बस्न तथा सर्पदंशबाट बच्न आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ ।


