२०८३ वैशाख १३ आइतवार , ०७:४२:५३ बजे

Sajhamanch
'

गोरखा भूकम्पको ११ वर्षपछि पनि दलित बस्ती कष्टमै : त्रिपालमुनि जीवन, घर निर्माण अझै अलपत्र

आइतवार, वैशाख १३, २०८३

गोरखा । २०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि गोरखाका दलित समुदायका केही परिवार अझै व्यवस्थित आवासबाट वञ्चित छन्।

राहत र पुनर्निर्माणका धेरै कार्यक्रम सञ्चालन भए पनि उनीहरू अहिले पनि त्रिपालले ढाकिएका अस्थायी टहरामै कष्टकर जीवन बिताइरहेका छन्।

खोल्साको छेउमा रहेको सानो बस्तीमा झुत्रा त्रिपाल र जस्तापाताले छोपिएका जीर्ण टहराहरू देखिन्छन्। साँघुरा र होचा ती टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू छन् भने झ्याल र बलियो ढोका समेत छैन।

स्थानीयहरूका अनुसार प्रहरी चौकी नजिकै भएकाले चोरी–लुटपाटको डर छैन, तर हावाहुरी र वर्षाले टहरा उडाउने त्रास भने सधैँ रहन्छ।

५७ वर्षीया माइती माया सुनार भूकम्पको दिन सम्झिँदै भन्छिन्, ‘पहिले डाँडागाउँको गैरीगाउँमा ढुङ्गा-माटोको घर थियो। भूकम्पले घर भत्कायो, पहिरोको जोखिम बढेपछि यहाँ आएँ। त्यसयता त्रिपालमुनि बस्नुपरेको छ।’

बस्तीमा आधारभूत सुविधा समेत अत्यन्त न्यून छन्। २४ घरपरिवारका लागि जम्मा दुई वटा मात्र शौचालय छन्, ती पनि अव्यवस्थित अवस्थामा छन्। पानीको अभाव र चुकुलको समस्या उस्तै रहेको स्थानीय बताउँछन्।

३२ वर्षीय समिर सुनारका अनुसार करिब ६०-७० जना एउटै बस्तीमा बसोबास गर्दै आएका छन्। ‘यहाँ केही पनि व्यवस्थित छैन, शौचालयसमेत प्रयोग गर्न कठिन छ,’ उनले भने।

अत्यधिक गर्मी र चिसोले यहाँका बालबालिका, ज्येष्ठ नागरिक, किशोरी तथा सुत्केरी महिलाहरू सबै प्रभावित छन्। बस्तीका अगुवा सुकबहादुर विकका अनुसार चिसोका कारण धेरैमा निमोनियाको समस्या देखिएको छ, कतिपयको ज्यानसमेत गइसकेको छ।

२०७२ सालको भूकम्पले बारपाक क्षेत्रमा मात्रै एक हजार १०० घरधुरी भत्किएका थिए भने ७२ जनाको ज्यान गएको थियो। त्यसपछि डाँडागाउँ, गैरीगाउँ र कोटडाँडाका ४१ दलित परिवारले सरकारी जग्गामा अस्थायी टहरा बनाएर बस्न थालेका थिए। तीमध्ये २४ परिवार भने पहिरोको जोखिमका कारण पुरानो थलोमा फर्किन सकेका छैनन्।

यी परिवारहरूले सट्टापट्टाका लागि आफ्नो लालपूर्जा सरकारलाई बुझाएर प्रक्रिया पूरा गरे पनि जग्गा प्राप्ति र घर निर्माण अझै अन्योलमा छ। ‘हामी धेरै पटक सिंहदरबार धायौँ,’ सुकबहादुर विक भन्छन्, ‘सरकारबाट स्वीकृति पाए पनि स्थानीय राजनीतिक कारणले अहिलेसम्म व्यवस्थित घर बनाउन सकेका छैनौँ।’