
काठमाडौं । आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ तारिखमा प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल २६ तारिखलाई चेर्नोबिल दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
सन् २०१७ देखि यो दिवस मनाउन थालिएको हो । चेर्नोबिल आणविक दुर्घटना भएको यो ४० औँ वर्ष हो । युक्रेनमा चेर्नोबिल आणविक विद्युत् केन्द्रमा भएको विस्फोटपछि रेडियोधर्मी बादल सोभियत सङ्घका धेरै भागमा फैलिएको थियो । अहिले ती क्षेत्र बेलारुस, युक्रेन र रुसी महासङ्घका क्षेत्रहरूमा पर्छन् ।
त्यस बेला भएको दुर्घटनाबाट ८४ लाख मानिस विकिरणको प्रभावमा परेका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार चेर्नोबिल दुर्घटनापछि तीन दशक बितिसक्दा पनि दीर्घकालीन गम्भीर असर रहेको र प्रभावित समुदायले अझै सहयोगको आवश्यकता महसुस गरिरहेको अवस्था छ ।
संयुक्त राष्ट्रसङ्घ, बेलारुस, रुसी महासंघ र युक्रेन सरकारले प्रभावित क्षेत्रको पुनः स्थापना तथा विकासका प्रयास अघि बढाउँदै आएका छन् । प्रारम्भिक मानवीय सहयोगपछि प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, विकिरणको जोखिम घटाउने, प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य असरबारे निरन्तर अध्ययन हुँदै आएका छन् ।


