
काठमाडौं । आज विश्व बौद्धिक सम्पदा दिवस मनाइँदैछ । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिएर मनाउने गरिन्छ ।
हरेक वर्ष अप्रिल २६ तारिखमा मनाइने यो दिवसको मुख्य उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो । विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत निकायका रूपमा रहेको यो संस्थाले विश्वव्यापी बौद्धिक सम्पदा सेवा, नीति निर्माण, सूचना आदान–प्रदान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई समन्वय गर्दै आएको छ । ‘
डिजिटल’ युगसँगै बौद्धिक सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । संस्थाले सरकार, व्यवसाय तथा स्रष्टाहरूलाई सीमापार रूपमा बौद्धिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्न सहयोग पुर्याउँदै विश्वभर नवप्रवर्तन र सिर्जनशीलता प्रवर्द्धनमा जोड दिँदै आएको छ ।
सङ्गठनका अनुसार बौद्धिक सम्पदामा ‘कपीराइट, पेटेन्ट, ट्रेडमार्क’ र औद्योगिक ‘डिजाइन’लगायतका अधिकार समावेश छन्, जसले स्रष्टा, आविष्कारक तथा उद्यमीलाई आफ्नो सिर्जनाको संरक्षण र उपयोगको अधिकार प्रदान गरेको छ ।
दिवसले विशेष गरी नवप्रवर्तन, प्रविधि र सिर्जनशील क्षेत्रमार्फत आर्थिक तथा सामाजिक विकासमा बौद्धिक सम्पदाको भूमिकालाई उजागर गरेको छ । यसबाट कला, सङ्गीत, साहित्य, प्रविधि तथा उद्योग क्षेत्रका स्रष्टा र नवप्रवर्तकहरूले बौद्धिक सम्पदामार्फत आफ्नो पहिचान स्थापित गर्नुका साथै आर्थिक लाभ लिन सक्ने अवस्था सृजना भएको छ । विज्ञका अनुसार ‘डिजिटल’ युगसँगै बौद्धिक सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।
अनधिकृत प्रयोग, नक्कली उत्पादन र डिजिटल चोरीजस्ता समस्यालाई नियन्त्रण गर्न प्रभावकारी कानुनी व्यवस्था र जनचेतना आवश्यक रहेकोमा उनीहरूको जोड छ । नेपालमा पनि बौद्धिक सम्पदासम्बन्धी कानुनी तथा नीतिगत सुधारको आवश्यकता रहेकोमा जोड छ ।


