२०८३ वैशाख १३ आइतवार , ०१:३३:२३ बजे

Sajhamanch
'

आईपीएलमा पञ्जाब र हैदरावादका लागि हिजोको खेल ऐतिहासिक : पञ्जाब विजयी

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले दिल्ली क्यापटिल्सलाई ६ विकेटले पराजित गरेको छ ।

हिजो दिल्लीमा भएको खेलमा दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । यो खेल दुवै टोलीका लागि ऐतिहासिक बन्यो ।

दिल्लीले सन् २०२४ मा मुम्बई ईन्डियन्ससँगको खेलमा बनाएको २५७ रनको रेकर्ड तोडे पनि सुखद रहेन । त्यस्तै पञ्जाबको जीतमा पनि आफ्नै रेकर्ड तोड्दै शीर्षस्थानको दबदबा बलियो बनायो ।

पञ्जाबले आईपीएलकै अघिल्लो खेलमा लखनउ सुपर जाइन्टससँगको खेलमा बनाएको २५४ रनको रेकर्ड तोडेको हो । आईपीएल इतिहासमा उच्च स्कोर भने सनराइजर्स हैदरावादको नाममा छ । सन् २०२४ मा हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरुसँगको खेलमा २८७ रन बनाएको थियो ।

हिजोको खेलमा दिल्लीका केएल राहुलले १५२ तथा नितिश रानाले ९१ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । केएल राहुलको रन आईपीएल इतिहासमा तेस्रो व्यक्तिगत उच्च स्कोर हो । एउटै इनिङमा बनाएको उच्च स्कोर क्रिस गेलको नाममा छ । उहाँले १७५ बनाउँदा दोस्रो स्थानमा ब्रेडम म्याक्कुलमको नाममा १५८ रन छ ।

पञ्जाबको जीतमा प्रब्सिम्रन सिंहले ७६ रन, प्रियान्श आर्याले ४३ रन र कप्तान श्रेयस आयरले अविजित ७१ रनको उत्कृष्ट प्रदर्शन गरे । शीर्षस्थानमा रहेको पञ्जाबले हिजोको जीतसँगै १३ अङ्कसहित दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलुरु भन्दा ३ अङ्कले अग्रता लिएको छ ।

पराजित भएको दिल्ली ७ खेलबाट ६ अङ्कसहित छैटौँ स्थानमा छ । त्यस्तै हिजो जयपुरमा बेलुका भएको अर्को खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ । राजस्थानले दिएको दिएको २२९ रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

हैदरावादको जीतमा अभिषेक शर्मा र ईशान किसनले अर्ध शतक खेले । अभिषेकले ५७ रन र ईशान किसनले ७४ रन बनाए । पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२८ रन बनाएको थियो ।

हैदरावाद ८ खेलमा १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा समान अङ्कसहित रनरेटले पछि पर्दै राजस्थान तालिकाको चौथौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे चेन्नईको घरेलु मैदानमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स र बेलुका पौने ८ बजे लखनउमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर किंग्स खेल्दैछन् ।

सम्बन्धित खबर