२०८३ वैशाख ११ शुक्रवार , ०२:५२:०२ बजे

Sajhamanch
'

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ । सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाइरहेका छन् ।

सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएका थिए । तर रास्वपाकै बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले डोजर चलाउने निर्णय गरेपछि युवाहरु आक्रोशित छन् । उनीहरुले रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह गर्दै नारा लगाइरहेका छन् ।

सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो । आज बिहानबाट केहीले बस्तीबाट सामान सारिरहेका छन् । तर केही युवाहरु भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा प्रदर्शन भएको हो ।

उनीहरुले भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयविरुद्ध थापाथली बस्ती हुँदै माइतीघर मण्डलासम्म र्‍याली आयोजना गर्ने तयारी समेत गरिएको छ ।

प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउने निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठकमार्फत् सुकुमवासी बस्ती खाली गराउने निर्णय गराएका थिए । उक्त बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू सहभागी थिए ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा माइकिङ गरेको थियो । प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाको थापाथलीसहित ४ वटा सुकुमवासी बस्तीमा डोजर चलाउने जनाएको छ ।

सरकारले डोजर चलाउने सूचना पाएपछि कतिपयले आफैं बोकेर र कतिपयले गाडीमा लोड गरेर सामान सारिरहेका छन् । कतिपयले भने सरकारको निर्णय अवज्ञा गर्ने योजना अनुसार बस्ती खाली नगर्ने अडान राखेका छन् ।

देशभरी करिब १२ लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी छन् ।

सम्बन्धित खबर