
पर्वत । तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ ।
कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले यही वैशाख १० गतेदेखि ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।
उक्त खण्डको झन्डै तीन किलोमिटर सडक अहिले कालोपत्र गर्न थालिएको छ । सडकमा चार पाङ्ग्रे सवारी बन्द गरिए पनि दुई पाङ्ग्रे सवारीसाधन भने सञ्चालन गर्न दिइने भएको छ ।
उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वैकल्पिक सडकका रुपमा बाम्रा–गैराथोक–राताडाँडा हुँदै बुमी–लाम्पाटा–गहतेपोखरा–साइकलचोक सडक प्रयोग गर्न आग्रह गरिएको हो ।
अहिले ठुलीपोखरी–खौला खण्डमा कालोपत्र गर्नका लागि नाली निर्माण, सडक चौडा गर्ने, ग्यावियन जाली लगाउनेलगायत अन्य संरचना निर्माणको काम सम्पन्न गरी सबवेस बिछ्याउने काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर विज्ञान पौडेलका अनुसार गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत रु. पाँच करोड ८० लाखमा सम्झौता भई गत वर्षदेखि निर्माणकार्य थालिएको हो ।
इन्जिनियर पौडेलले यस वर्ष झन्डै तीन किलोमिटर सडक कालोपत्र हुने र जसमध्ये २५० मिटर ढलान गरिने जानकारी दिनुभयो । सडक निर्माणको जिम्मा पाएको देबचुली–कालीगङ्गा जेभी निर्माण कम्पनीका इन्जिनियर प्रविन गुरुङले निर्धारित समयमै सडक कालोपत्र सम्पन्न गर्नका लागि अवरोध नहोस् भनेर सवारी आवागमन बन्द गरेर निर्माणकार्य धमाधम गरिएको जानकारी दिनुभयो ।
दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकको सिल्मीदेखि ठुलीपोखरीसम्मको केही भाग यसअघि नै कालोपत्र भएको थियो । अहिले बाँकी रहेको खण्डमा ढलान तथा कालोपत्र गरी सम्पन्न हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
अब खौलादेखि कार्किनेटासम्मको झन्डै चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । यो सडक कालोपत्र भएमा मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने भएको छ । अहिले पनि स्याङ्जा, पाल्पा, बुटबलतर्फ जाने केही सवारीसाधनले यो मार्ग प्रयोग गर्दै आएका छन् ।
यो मार्गमा कालोपत्र गर्नका लागि पटकपटक बजेट माग गर्दा पनि पर्याप्त मात्रामा विनियोजन हुन नसकेको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका वडाध्यक्ष झलक रिमालले बताउनु भयो। आगामी आर्थिक वर्षमा पनि बजेट माग गरेर यसलाई पूरा गर्न लागिपरेको उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले विकास निर्माणको कार्य गर्ने बेला केही कठिनाइसमेत हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गरी उक्त सडकलाई पूर्णता दिन सहयोग गर्न सो क्षेत्रका बासिन्दालाई आग्रह गर्नु भएको छ । उहाँले निर्माण व्यवसायीलाई २० दिनभित्र पूरै काम सम्पन्न गर्न अनुरोध गर्नु भएको छ ।


