२०८३ वैशाख ६ आइतवार , ०२:०७:०७ बजे

Sajhamanch
'

देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने

आइतवार, वैशाख ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने भएको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चको आदेशपछि हिजो बोलाएको बैठकमा देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको फैसलालाई स्वीकार गर्ने निष्कर्ष निकालेको नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकपछि विश्वकर्माले सर्वोच्चको फैसला स्वीकार गर्ने अनि अब कांग्रेसलाई एकजुट बनाएर लैजाने विषयमा पनि छलफल भएको बताउनुभयो । स्वतन्त्र न्यायपालिकाले गरेको फैसलालाई कांग्रेसले मान्दै आएको बताउँदै उहाँले कानुनी र वैधानिकताको विषय टुङ्गिए पनि राजनीतिक विषय भने बाँकी नै रहेको बताउनुभयो ।

त्यसअघि हिजो सभापति गगन थापाले सर्वोच्चको फैसलाबाट पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गरेको बताउनुभएको थियो । १५ औँ महाधिवेशनको प्रक्रिया शुरु भइसकेको र यसलाई सफल बनाउन र पार्टीलाई रूपान्तरण र सुदृढ पार्ने अवसरको रूपमा प्रयोग गर्न पनि उहाँको आग्रह छ ।

अस्ति सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाको पक्षमा फैसला गरेको थियो ।

सम्बन्धित खबर