
काठमाडौं । भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिनुभएको छ । हिजो उहाँले गभर्नर सइद अता हसैन समक्ष आफ्नो राजीनामा पत्र बुझाउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यससँगै बिहारको राजनीतिमा झण्डै दुई दशकदेखि कायम रहेको ‘नितिश युग’ को औपचारिक अन्त्य भएको छ । ७५ वर्षीय नितिश कुमारले स्वास्थ्य अवस्था र आफ्नो नयाँ राजनीतिक भूमिकालाई मध्यनजर गर्दै यो निर्णय लिएको बताउनुभएको खबरमा उल्लेख छ ।
उहाँ केही समयअघि मात्रै राज्यसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । अब उहाँ केन्द्रीय राजनीतिमा सक्रिय हुनुहुनेछ । नितिश कुमारको राजीनामासँगै बिहारमा सत्ता समीकरणमा पनि परिवर्तन हुँदैछ ।
अब बिहारमा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ । सम्राट चौधरी बिहारको नयाँ मुख्यमन्त्री बन्नुहुनेछ । भाजपा हाल बिहार विधानसभामा ८९ सिटसहित सबैभन्दा ठूलो दलको रूपमा रहेको छ ।
नयाँ मुख्यमन्त्री र मन्त्रिमण्डलको शपथ ग्रहण आज हुने र प्रधानमन्त्री नरेन्द्र मोदीको समेत उपस्थित हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


