२०८३ वैशाख २ बुधवार , १२:२४:३६ बजे

Sajhamanch
'

नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल

बुधवार, वैशाख २, २०८३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनु भएको छ ।

‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनु भएको हो । सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार केवल पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव छैन । बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्वपूर्ण हुन्छ ।

सभामुख अर्यालले स्पष्ट आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समय बस्ने बताउनु भयो । उनीहरू विलासिता मात्र नभई, आत्मिक शान्ति र जीवनको अर्थ खोज्न यात्रा गर्ने बताउनु भयो । यसका लागि नेपालका हिमालय, पवित्र नदीहरू र प्राचीन योग परम्पराहरू विश्वकै लागि अद्वितीय ‘प्रोडक्ट’ हुनसक्ने उहाँको भनाइ छ ।

सभामुख अर्यालले विश्वभर आरोग्य पर्यटन तीव्र रूपमा विस्तार भइरहेको र यो खर्बौँ डलरको अर्थतन्त्रमा रूपान्तरण भइसकेको सन्दर्भमा नेपालसँग अपार सम्भावना रहेको औँल्याउनु भयो ।

पश्चिममा बडिमालिका र खप्तडदेखि कर्णालीको रारा, लुम्बिनी, मनाङ र मुस्ताङसम्मका क्षेत्रहरू आत्मिक अनुभूतिका यात्रा गर्ने गन्तव्य भएको उहाँको भनाइ छ ।

उहाँले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडेल विकास गर्नुपर्ने र यसका लागि स्पष्ट नीति, राष्ट्रिय आरोग्य मोडेल र स्थानीय समुदायको साझेदारी आवश्यक रहेको बताउनु भयो ।

नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघको महासभाले वैशाख २ (अप्रिल १५) लाई आरोग्य दिवसको रुपमा मान्यता दिनु ऐतिहासिक उपलब्धि भएको पनि बताउनु भयो ।

यो दिवस केवल घोषणा मात्र नभई मानव जीवनलाई पुनः सन्तुलित बनाउने, प्रकृतिसँग जोड्ने र आत्मिक शान्तितर्फ फर्कने एउटा गौरवमय क्षण भएको उहाँको भनाइ छ ।

नेपालको सभ्यता, संस्कृति र परम्परा आफैमा आरोग्यका उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै सभामुखले हजारौँ वर्षदेखि योग, ध्यान, आयुर्वेद र प्रकृतिसँगको सह–अस्तित्वलाई नेपालीले जीवनको आधार बनाएको बताउनु भयो ।

सम्बन्धित खबर