
काठमाडौं । प्रसिद्ध भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आज निधन भएको छ ।
आधुनिक भारतीय सङ्गीतकी महान् गायिकामध्ये एक मानिने भोसलेको मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । हृदयघात भएपछि हिजो उनलाई अस्पताल भर्ना गरिएको थियो ।
आशा भोसले अर्की चर्चित गायिका लता मङ्गेशकरकी बहिनी हुन् । सन् १९३३ मा मङ्गेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन शुरू गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो चलचित्र गीत रेकर्ड गरेकी थिइन् । झन्डै तीन दशमसम्म उनी धेरैजसो सङ्गीतकारहरूको रोजाइको गायिका बनिन् ।
आशा भोसलले २० वटा भाषामा १२ हजारभन्दा धेरै गीत गाएकी छिन् । उनका ‘चुरालिया है तुम ने जो दिलको’, ‘दिल चीज क्या है’, ‘दम मारो दम’, ‘ए मेरा दिल’, ‘जवानी जाने मन’, ‘रङ्गीला रे’ लगायत थुप्रै गीतहरू चर्चित छन् ।
भोसलेले ‘गैरी खेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘पहाडको माथिमाथि’, ‘दियो बाली साँझ को’, ‘तिमी मेरो म तिम्रो’ लगायतका नेपाली गीतहरू पनि गाएकी छिन् ।


