२०८२ चैत १८ बुधवार , ११:३६:०६ बजे

Sajhamanch
'

राष्ट्रसेवक साकोसको स्थापना दिवसमा शैक्षिक सामग्री वितरण, उत्कृष्ट सदस्यलाई सम्मान

बुधवार, चैत १८, २०८२

झापा । निजामती सेवामा रहेका राष्ट्रसेवक कर्मचारीहरुले संस्था दर्ता गरी सञ्चालन गर्दै आएको राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था झापाले विविध रचनात्मक कार्यक्रमका साथ आज बुधबार आफ्नो २७औँ स्थापना दिवस मनाएको छ ।

संस्थाले उक्त अवसरमा झापाको अर्जुनधारा–११ स्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीलाई स्कूल ब्याग र शैक्षिक सामग्री वितरण गरेको हो ।

मुख्यरुपमा, नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरु सदस्य रहेको राष्ट्रसेवक साकोसका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंको नेतृत्वमा अर्जुनधारा पुगेको संस्थाका पदाधिकारी–सदस्य एवम् संगठनका पदाधिकारी–सदस्य तथा अग्रज संगठकहरुको टोलीले जुनकिरी सार्वजनिक आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत संगठनका अग्रज संगठक देवराज कार्की, राष्ट्रसेवक साकोस झापाका निवर्तमान अध्यक्ष वशिष्ठ अधिकारी, उपाध्यक्ष तेजेन्द्र न्यौपाने, सचिव शेषराज पौडेल, सल्लाहकार तथा संस्थाका पूर्व अध्यक्ष डिल्ली दाहालगायतले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

आजै दिउँसो संस्थाको भवनमा विशेष कार्यक्रम गरी आफ्ना ज्येष्ठ सदस्य एवम् कारोबारमा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको छ । ज्येष्ठ पुरुष सदस्य दाताराम दाहाल र ज्येष्ठ महिला सदस्य चन्द्रकला गौतमलाई सम्मान गरिएको हो । उत्कृष्ट सदस्यतर्फ मायादेवी ढुंगेल, गम्भीर तामाङ, आशा कार्की, तारणीप्रसाद चौधरी र फुचमान भुजेललाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंको अध्यक्षतामा सचिच शेषराज पौडेलले सञ्चालन गरेको समारोहका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका उपाध्यक्ष नारायण भट्टराईले सम्मानित सदस्यहरुलाई मायाको चिनोसहित सम्मानपत्र प्रदान गरेका थिए ।