२०८२ चैत १२ बिहिवार , ११:०३:४३ बजे

Sajhamanch
'

नेपाल–भारत महिला टी–२० फ्रेन्डसीप कप : सिक्किम विजयी

बिहिवार, चैत १२, २०८२

झापा । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सञ्चालित नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको खेलमा भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किम विजयी भएको छ ।

नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको आजको खेलमा भारतकै दून हेरिटेज सिलिगुडीलाई ८ विकेटले पराजित गर्दै सिक्किमले सहज जीत निकालेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको सिलिगुडीले निर्धारित २० ओभरमा अलआउट हुँदै ४७ रन बनायो । जवाफमा सिक्किमले १३ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पार गरेको प्रतियोगिताका व्यवस्थापक राजन भट्टराईले जानकारी दिए ।

सिलिगुडीका तर्फबाट ह्याप्पी सरकारले १५ रन बनाउने बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । सिलिगुडीलाई सस्तैमा समेट्न सिक्किमकी मारियन सुब्बाले ४ ओभरमा केवल ८ रन खर्चिएर २ विकेट लिइन् ।

ब्याटिङतर्फ सिक्किमकी नन्दिता कुमारीले ३१ बलमा २१ रन बनाइन् भने प्रमिला क्षेत्रीले ३३ बलमा १४ रन बनाइन्

विजयी टिमकी मारियन सुब्बाले खेलको म्यान अफ द म्याच भई पुरस्कार जितिन् ।

भोलि शुक्रबार समूह चरणको अन्तिम खेल मिलन क्रिकेट क्लव झापा र भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ भने फाइनल खेल शनिबार हुनेछ ।

नेपाल–भारतबीचको महिला क्रिकेटलाई परिचित गराउने र महिला क्रिकेट सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले पहिलो पटक मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको नेपाल–भारत मैत्री संघ झापाका खेलकुद संयोजक गौरव सुब्बा मनोजले जानकारी दिए ।

सम्बन्धित खबर