२०८२ चैत ९ सोमवार , ११:०२:५२ बजे

Sajhamanch
'

झापाबाट वाम आन्दोलन एकता र पुनर्गठनको आह्वान

सोमवार, चैत ९, २०८२

झापा । हालै सम्पन्न निर्वाचनपछि वामपन्थी तथा कम्युनिष्ट पार्टीहरूभित्र आत्मसमीक्षा र पुनर्गठनको बहस तीब्र बनेको छ । झापाबाट सार्वजनिक गरिएको संयुक्त अपिलमार्फत वाम आन्दोलनप्रति जनविश्वास घट्दै गएको निष्कर्षसहित नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवश्यकता औंल्याइएको छ ।

अपिलमा उल्लेख गरिएअनुसार निर्वाचन परिणामले वामपन्थी शक्तिहरूप्रति जनताको भरोसा कमजोर हुँदै गएको संकेत गरेको छ । लामो समयदेखि सत्ता र संगठनमा रहे पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्न नसक्नु, विचारभन्दा व्यक्तिवाद हाबी हुनु र आन्तरिक लोकतन्त्र कमजोर हुनु प्रमुख कारणका रूपमा औंल्याइएको छ ।

नेताहरूले पार्टीभित्र गुटबन्दी, व्यक्तिगत स्वार्थ र अवसरवाद बढ्दै गएको स्वीकार गर्दै यसले समग्र वाम आन्दोलनको विश्वसनीयतामा गम्भीर असर पारेको बताउनुभएको छ । जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा स्पष्ट नीति र प्रभावकारी कार्यक्रम नआएकाले मतदाता निराश भएको अपिलमा उल्लेख छ ।

विशेषगरी झापामा भएको समीक्षा बैठकले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई अबको प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ । पुरानो कार्यशैली त्याग्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने, पार्टीलाई जनमुखी र उत्तरदायी बनाउनुपर्ने माग स्पष्ट रूपमा उठाइएको छ ।

त्यसैगरी, वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य रहेको निष्कर्ष निकाल्दै साझा विचार, कार्यक्रम र नेतृत्व विकासमा जोड दिइएको छ । अपिलमा आगामी दिनमा वाम आन्दोलनलाई पुनः सशक्त बनाउन एकता, रूपान्तरण र सुदृढीकरण अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ ।

राष्ट्रिय हित, लोकतन्त्र र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्दै विगतका कमजोरीबाट सिकेर नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।

झापाको विर्तामोडमा आयोजित समीक्षा बैठकपछि जारी संयुक्त विज्ञप्तिमा स्वतन्त्र वामपन्थी नेता नरेश खरेल, नेकपा एमालेका रबिन कोइराला र गणेश पोखरेल, नेकपाका झलकसिंह दर्लामी, रञ्जित तामाङ, ज्योतिसिंह दर्लामी, पुष्प पोखरेल, प्रगतिशील लोकतान्त्रिक पार्टीका लक्ष्मीदेवी न्यौपाने सरु, नेकपा संयुक्तका निलमणि बराल तथा नेकपा माओवादीका अर्जुन पाण्डेले हस्ताक्षर गर्नु भएको छ ।

सम्बन्धित खबर