२०८२ चैत ४ बुधवार , ११:५५:०५ बजे

Sajhamanch
'

आचरणमा नबस्ने सांसदलाई ‘राइट टू रिकल’ प्रयोग गर्ने रास्वपा सभापति लामिछानेको चेतावनी

बुधवार, चैत ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचरणमा नबस्ने र जनअपेक्षा विपरीत काम गर्ने सांसदलाई फिर्ता बोलाउने चेतावनी दिएको छ । प्रशिक्षणका लागि आयोजना गरेको क्लोज क्याम्पमा रास्वापाले आफ्ना सांसदलाई अनुशासनमा बस्न र जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएको हो ।

रास्वपाले संसदीय भूमिका र कसरी प्रस्तुत हुने भनेर आफ्ना सांसदलाई दुई दिने ‘क्लोज क्याम्प’ अभिमुखीकरण कार्यक्रम राखेको थियो । रास्वपाका प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित अधिकांश सांसदहरू उक्त क्याम्पमा सहभागी थिए ।

तर, पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीमा प्रस्तावित बालेन शाह भने क्लोज क्याम्पमा अनुपस्थित रहे । उनको प्रतीक्षामा सांसदहरू थिए । तर स्वास्थ्यको कारण देखाउँदै उनी सहभागी हुन सकेनन् । समापन समारोहमा सभापति रवि लामिछानेले सम्बोधन गरे ।

दुई दिने क्लोज क्याम्पले संसद्‌मा कसरी बोल्नेदेखि के गर्ने, के नगर्नेबारे नवनिर्वाचित सांसदहरूले ज्ञान पाए । पार्टीका शीर्ष नेता र विषय विज्ञले संसदीय अभ्यासबारे जानकारी दिए ।

अभिमुखीकरण फलदायी भएको प्रतिक्रिया सहभागी सांसदहरूको छ ।

‘बोल्न आउँदैन भनेर उल्लिबिल्ली बनाइरहनु भएको छ । त्यसैले क्लास लिएकी हुँ’ रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि धादिङ–१ बाट निर्वाचित सांसद आसिका तामाङले आफूलाई बोल्न नआउने भनेर गरिएको टिप्पणीमा व्यंग मिश्रित प्रतिक्रिया दिइन् ।

‘दुई दिने क्लास एकदमै राम्रो भयो । मलाई यही पिर थियो । देशमा प्रधानमन्त्री मात्रै होइन, धेरै सांसद नयाँ हुनुहन्छ । मलाई कसले गाइड गर्छ भन्ने डर थियो । पार्टीले यो राम्रो ओरेन्टेसन क्लास राख्यो, राम्रो भयो’ तामाङले आफ्नो अनुभव सुनाइन् ।

फरक–फरक क्षेत्रबाट निर्वाचित भएर आएका सांसदको एकअर्कामा चिनजानसमेत थिएन । परिचयसँगै संसदीय अभ्यासबारे जान्न पाएको अनुभव उनीहरूले सुनाए ।

‘कसरी काम गर्ने भनेर संवेदनशील थियौं । संसदीय भूमिका, कानुन निर्माण, कर्मचारीतन्त्रबारे प्रशिक्षण भयो’ काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेलले भने, ‘विभिन्न पृष्ठभूमि र परिवेशबाट आएका छौँ । सांसदको भूमिकाबारे बुझ्न पाइयो ।’

अघिल्लो संसद्‌मा रहेका सांसदले आफ्नो अनुभव नयाँ सांसदहरूलाई बाँडे । ‘हाम्रो अनुभवको कुरा राख्यौं । अघिल्लो छोटो कार्यकाल थियो । नवनिर्वाचितलाई सेयर गर्‍यौं’ चितवन–१ बाट निर्वाचित हरि ढकालले भने ।

पुरान दलहरूले नगरेको अभ्यास यसपटक रास्वपाले शपथअघि नै थालनी गरेकाले संसद्‌मा काम सही ढंगले हुने विश्वास उनीहरूको छ । ‘पहिला पुराना दलहरूले यस्तो कक्षा राखेको भए देश अफ्ठ्यारोमा जाने थिएन । यसपटक बहुआयामिक विषयमा कक्षा भयो’ मोरङ–१ बाट निर्वाचित सांसद यज्ञमणि न्यौपानेले भने ।

देशको समस्या संसद्‌बाट कसरी समाधान गर्ने भनेर सिक्ने मौका मिलेको उनीहरूको भनाइ छ । ‘नयाँ छौँ, समस्या कहाँ छ, बुझ्दै छौँ । समस्याको समाधान कसरी गर्ने भनेर दुई दिन छलफल गर्‍यौं’ गुल्मी–१ बाट निर्वाचित सागर ढकालले भने, ‘बजेटमा समस्या के छ ? वैज्ञानिक ढंगबाट कसरी काम गर्ने भनेर शपथ अघि नै योजना बनाएर अगाडि बढ्न लागेका हौँ ।’

दुई तिहाइ नजिक रहेको पार्टीका सांसदले बोल्ने हरेक कुरा अर्थपूर्ण हुने भएकाले के बोल्ने, कसरी बोल्ने भनेर सिक्न पाएको उनीहरूले बताए । ‘कक्षा राम्रो भयो । यसले संसद्‌मा काम गर्न सहयोग गर्छ । पार्टीको बाचापत्रका बारेमा तथा के बोल्न सकिन्छ, के सकिँदैन भनेर सिक्न पाइयो’ समानुपातिबाट निर्वाचित भएकी सुम्निमा उदासले भनिन्, ‘हरेक कुरा जिम्मेवार भएर बोल्नु पर्‍यो ।’

अनुशासनमा नबसे कारबाही गरिने

पार्टीका नेता र विज्ञले प्रशिक्षण दिएपछि रास्वपाले अनुशासनमा नबस्ने सांसदलाई कारबाहीको चेतावनी पनि दिएको छ । जनताले अभूतपूर्व मतका साथै जिम्मेवारी दिएर पठाएकाले सोहीअनुसार काम नगरे कारबाही हुने चेतावनी रास्वपाले दिएको हो ।

विधानमा रहेको ‘राइट टु रिकल’ को व्यवस्थालाई कडाइका साथ लागु गर्ने उद्घोष रास्वपाले गर्‍यो । ‘एउटा स्वतन्त्रता हुन्छ, अर्को अनुशासन । फ्रिडम र डिसिप्लिनबीचको पातलो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ । पार्टीको कुनै पनि उद्देश्यले तपाईंको स्वतन्त्रता हनन गर्ने छैन’ सभापति रवि लामिछानेले भने, ‘स्वतन्त्रताको सदुपयोग गर्नुहोस् तर अनुशासित भएर । परिवार ठूलो भएको छ । अनुशासित हुन सकेनौँ भने त्यसले अराजकता सिर्जना गर्छ । जसलाई हामी कदापि स्वीकार गर्न सक्दैनौँ ।’

सभापति लामिछानेले स्वार्थ समूहको घरमा दौडधुप नगर्न र गुट बनाउने काम नगर्न सांसदलाई सचेत गराए । ‘बिचौलियाको पानी खानुअघि शहीदकी आमा सम्झनु होला’ उनले भने, ‘आफ्नो क्षेत्रमा मात्रै बजेट नलानु होला । नागरिकसँग सधैं नजिक रहनु होला ।’

मन्त्रीको लागि लबिङ नगर्नसमेत उनले अनुरोध गरे ।

सांसदको मूल काम कानुन निर्माण रहेकोतर्फ उनले आफ्ना सांसलाई सचेत गराए । ‘हामी कानुन बनाउन आएका हौँ । नेपाली जनताले कानुन बनाउने प्रमुख जिम्मेवारी तपाईं हाम्रा काँधमा दिएका छन्’ उनले भने, ‘जनतालाई थाहा छैन, कुन कानुन फेरेर उनको घरको बाटो बन्छ । उनको धारामा पानी आउँछ । बिजुली आउँछ वा इन्टरनेट चल्छ । तर तपाईंलाई थाहा हुनुपर्छ– कुन धाराले कहाँ अड्काएको छ । मान्छेको घरमा धारा ल्याउन तपाईंले अध्ययन गर्नुपर्ने हुन्छ ।’

सामाजिक न्यायमा काम गर्न र जनतामाझ रहन उनले निर्देशन दिए । म केन्द्रित राजनीति नगर्न उनले सांसदहरूलाई निर्देशन दिए ।

‘आफ्नो पोजिसन के हुन्छ । म कहाँ हुन्छु, पार्टी र सरकारमा मेरो हैसियत के हुन्छ ?’ लामिछानेले भने, ‘म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरूभन्दा पनि नराम्रो हुनेछ ।’