
झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध नियन्त्रण र फरार प्रतिवादी पक्राउमा सफलता हासिल गरेको छ । प्रहरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार लागुऔषध कारोबार र प्रयोगमा संलग्न ४८२ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधसँग सम्बन्धित २९७ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा प्रहरीले ३ किलो ३७९ ग्राम ब्राउन सुगर, ४ किलो २४९ ग्राम गाँजा, १ हजार ८७० एम्पुल विभिन्न लागुऔषध, १ लाख ३ हजार ३५१ पिस ट्याब्लेट र १ लाख ६ हजार १०८ पिस क्याप्सुल बरामद गरेको छ ।
विशेषगरी वैशाख महिनामा मात्रै ५३ वटा मुद्दा दर्ता गरी ८६ जनालाई पक्राउ गरिएको र उनीहरूबाट ७९१ ग्राम ब्राउन सुगरसहित ठुलो मात्रामा प्रतिबन्धित औषधिहरू नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले ‘अपरेसन ब्राउन’ अन्तर्गत वैशाख १० देखि १६ गतेसम्मको छोटो अवधिमै १५२ जनालाई पक्राउ गरेको थियो । लागुऔषध दुव्र्यसनमा फसेका केही प्रयोगकर्ताहरूलाई भने आवश्यक प्रशिक्षण र परामर्श दिई अभिभावकको जिम्मा लगाइएको छ ।
प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानमा पनि ठूलो सफलता पाएको छ । चालु आर्थिक वर्षमा हालसम्म ५४९ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरूबाट कुल १६२ वर्ष १ महिना १ दिन कैद र ५ करोड ५ लाख ४३ हजार ९३४ रुपैयाँ जरिवाना असुलउपर गर्ने फैसला कार्यान्वयन भएको छ ।
वैशाख महिनामा मात्रै ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरी १६ वर्षभन्दा बढी कैद भुक्तानका लागि पठाइएको छ भने २६ लाख ९२ हजार ८५५ रुपैयाँ जरिवाना असुल गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको यो सक्रियताले जिल्लामा अपराध नियन्त्रण र फैसला कार्यान्वयनको पक्ष थप बलियो बनेको देखिएको छ । पक्राउ पर्नेहरूमा नेपाली पुरुष र महिलाका साथै केही भारतीय नागरिकहरू समेत रहेका छन् ।


