२०८२ चैत १ आइतवार , ११:५२:१६ बजे

Sajhamanch
'

प्रतिनिधि सभामा समानुपातिकबाट कुन पार्टीबाट को चयन हुँदै ?

आइतवार, चैत १, २०८२

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ ।

१५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने निर्णय गरिएको कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले जानकारी गराएका थिए । खस आर्यबाट दुई पुरुषको नाम पठाइएको छ ।

अर्जुननरसिंह केसी र कालीबहादुर खस आर्य पुरुषबाट नाम पठाइएको छ ।

यसै क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् । खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको शीर्ष तहका एक नेताले जानकारी गराए ।

आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित भएको छ ।

यसै क्लष्टरमा पुरुषबाट भिष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपांग)को नाम पठाइएको छ । यो क्लष्टरबाट महिलाको संख्या अपुग भएको अवस्थामा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ)ले अवसर प्राप्त गर्नेछिन् ।

थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार परेकी छन् । दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ ।

मधेशी कोटामा महिलामा निनुकुमारी कर्ण र रेखाकुमारी यादव परेका छन् । यसै क्लष्टरबाट पुरुषमा चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ । मुस्लिम कोटामा शाहजान खातुन परेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बनाउने ४ जनाको नाम टुंगो लगाएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिक तर्फको नाम टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्रपाबाट समानुपातिक सांसदका लागि भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुश्बु ओली (खस आर्य महिला) झापा र सरस्वती लामा (जनजाति महिला) धादिङलाई चयन गरिएको छ ।

यस्तै, श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठकले पनि आज आफ्ना ४ जना समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्यहरुको नाम टुङ्गो लगाएको छ । जसअनुसार

आदिवासी पुरुषतर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलातर्फ अम्बिकादेवी सङ्ग्रौला, मधेसी महिलातर्फ रुवीकुमारी ठाकुर र दलित महिलातर्फ राधिका रम्तेललाई चयन गरिएको हो ।