
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) बाट लगानी गरेका इङ्ग्ल्यान्डको ‘द हन्ड्रेड’ क्रिकेट टोलीका प्रशिक्षकहरूले पाकिस्तानी खेलाडीहरूलाई अनुबन्ध गर्नबाट आफूलाई रोक्न निर्देशन नदिइएको बताएका छन् ।
गएको फेब्रुअरीमा भारतीय स्वामित्वमा रहेका ‘द हन्ड्रेड’ का टोलीहरूले पाकिस्तानी खेलाडीहरूलाई अनुबन्ध नगर्नेबारे विचार गरिरहेका स्रोतहरूलाई उद्धृत गर्दै बीबीसी स्पोर्ट्सले रिपोर्ट गरेको थियो ।
प्रतियोगिताका आठ वटै टोलीका साथै इङ्ग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले पछि संयुक्त विज्ञप्ति निकालेर खेलाडीहरूलाई राष्ट्रियताका आधारमा बहिष्कृत गर्न नहुने बताएका छन् ।
तर हिजो महिला ‘द हन्ड्रेड’ क्रिकेटको अक्शनमा संलग्न दुई जना पाकिस्तानी खेलाडीलाई कुनै पनि टोलीले अनुबन्ध गरेनन् । यस्तै आज हुने पुरुषतर्फको अक्शनमा १७ जना पाकिस्तानी खेलाडी समावेश छन् ।
‘द हन्ड्रेड’ का आठमध्ये चार फ्रेन्चाइज–म्यानचेस्टर सुपर जायन्ट, एमआई लन्डन, साउदर्न ब्रेभ र सनराइज लिड्स आईपीएल टोली सञ्चालन गर्ने कम्पनीको आंशिक स्वामित्वमा रहेका छन् ।
पाकिस्तानका खेलाडीहरूले सन् २००९ यता भारत र पाकिस्तानबीचको कूटनीतिक तनावका कारण आईपीएलमा खेल्न पाएका छैनन् । त्यसयता भारतीय लगानी भएका टी–२० लिगमा पनि पाकिस्तानी खेलाडीको सहभागिता खुम्चिँदै गएको छ ।


