२०८२ फागुन २८ बिहिवार , ०१:१४:५५ बजे

Sajhamanch
'

आजदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषणको अवस्था क्रमिकरूपमा सुधार हुने सम्भावना

बिहिवार, फागुन २८, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन निकालेर आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले अहिलेको प्रदूषणको अवस्थामा क्रमिकरूपमा सुधार हुने सम्भावना रहेको जनाएको हो ।

नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै सञ्चित रहँदा केही दिनदेखि देशका धेरै भू–भागमा तुवाँलो देखिएको महाशाखाले जनाएको छ ।

पछिल्ला दिनमा काठमाडौंसहित देशका धेरै ठाउँमा प्रदूषण अस्वस्थकर तहमा पुगेको छ । वायुको गुणस्तर मापन गर्ने ‘आईक्यू एअर’ का अनुसार काठमाण्डौको वायु गुणस्तर सूचकाङ्क अर्थात् एक्यूआई १५० भन्दा माथि छ ।

वायु गुणस्तर सूचकाङ्क अनुसार एक्यूआई ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० हुँदा अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको सङ्केत गर्दछ ।

केही दिनदेखि प्रदूषण अस्वस्थ अवस्थामा पुगेपछि सरकारले सकेसम्म घरभित्रै बस्न र बाहिर निस्किँदा मास्क लगाउन आग्रह गरेको छ ।

यसैबीच आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही ठाउँहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर