
काठमाडौं । श्रीलंका आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ । हिजो भएको सुपर एटको खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो ।
कोलोम्बोमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए । दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ तथा पवन रत्नायकेले १० रन बनाए ।
न्युजिल्यान्डका रचिन रविन्द्रले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । म्याट हेनरीले २ ओभरमा १ मेडनसहित ३ रन मात्र दिएर २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो । कप्तान मिचेल सान्टनर र कोल म्याककन्कीले ८४ रनको साझेदारी गरे । सान्टनरले २६ बलमा ४७ रन बनाए ।
रचिन रविन्द्रले ३२ तथा फिन एलेनले २८ रन बनाए । ग्लेन फिलिप्सले १८ रन जोडे । श्रीलंकाका लागि महीश थीक्ष्णा र दुष्मन्थ चमीरा ले ३–३ तथा दुनिथ वेलालगेले १ विकेट लिए । यसअघि श्रीलंका इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । लगातार दुई हारपछि समूह २ मा रहेको श्रीलंका अङ्कविहीन छ ।
सन् २०१४ मा टी–२० विश्वकप जितेपछि श्रीलंका अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन । पहिलो जीत निकालेको न्युजिल्यान्ड ३ अङ्कसहित समूह २ को दोस्रो स्थानमा छ । न्युजिल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कायम छ । दुवै खेल जितेर ४ अङ्क जोडेको इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ र सेमिफाइनलमा पुगिसकेको छ ।
अब न्युजिल्यान्डले अन्तिम खेल भोलि इङ्ग्ल्यान्डसँग खेल्नेछ । भोलिको खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनल पुग्नेछ । यदि हारेको अवस्थामा पनि अर्को खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएमा न्युजिल्यान्ड सेमिफाइनल पुग्ने सम्भावना रहनेछ ।
विश्वकपअन्तर्गत आज दिउँसो सवा ३ बजे वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । यो खेल भारतको अहमदाबादमा हुनेछ । यस्तै आजको दोस्रो खेल बेलुकी सवा ७ बजे भारत र जिम्बाब्वेबीच भारतको चेन्नईमा हुनेछ ।


