
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने जनाएको छ ।
महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले हिजो सहयोगको अपील गरेपछि केएमसीको प्रशासन प्रमुख नारायणप्रसाद दाहालले उनी नेपालमै उपचार गर्न तयार भए अस्पतालले उपचारसहित सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गर्नुभएको छ ।
कतारको अस्पेटार अस्पतालमा भएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसीएलमा गम्भीर समस्यापछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ ।
हिजो सामाजिक सञ्जालमार्फत साम्बाले आफ्नो उपचारका लागि झन्डै ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोग आह्वान गरेकी थिइन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साम्बाको उपचारका लागि कतार फुटबल सङ्घलाई पत्राचार गरेको बताएको छ ।
अस्ट्रेलियन ए लिग फुटबल खेल्ने क्रममा डेढ महिनाअघि साम्बाको घुँडामा चोट लागेको थियो । वेलिङ्गटन फिनिक्समा आबद्ध उनी ब्रिस्बेन रोअरसँगको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किन पुगेकी थिइन् ।


