
काठमाडौं । क्यानडालाई हराउँदै न्युजिल्यान्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा पुगेको छ । भारतको चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियममा आज भएको समूह ‘डी’ को खेलमा न्युजिल्यान्डले क्यानडालाई ८ विकेटले हरायो ।
क्यानडाले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले १५ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले नटआउट ७६, रचिन रविन्द्रले नटआउट ५५ रन बनाए । क्यानडाका डिलोन हेलिगर र साद बिन जफरले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनायो । क्यानडाका युवराज सम्राले कीर्तिमानी शतक बनाए । न्युजिल्यान्डका म्याट हेनरी, ज्याकब डुफी, कायल जेमिनसन र जेम्स नीशमले १/१ विकेट लिए ।
समूह ‘डी’ बाट यसअघि दक्षिण अफ्रिका ‘सुपर–एट’ मा पुगिसकेको छ । यस्तै समूह ‘ए’ बाट भारत, समूह ‘बी’ बाट श्रीलङ्का, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड ‘सुपर–एट’ मा पुगेका छन् । अब ‘सुपर एट’ पुग्ने २ वटा टोलीको टुङ्गो लाग्न बाँकी छ ।
प्रतियोगितामा अहिले दिउँसो सवा ३ बजे आयरल्यान्ड र जिम्बावे तथा बेलुका सवा ७ बजे नेपाल र स्कटल्यान्ड खेल्दैछन् ।


