
काठमाडौं । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा आजदेखि शुरू हुँदैछ ।
२०५५ सालदेखि धरान फुटबल क्लबले सञ्चालन गर्दै आएको बुढासुब्बा गोल्डकप काठमाडौं उपत्यकाबाहिर आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हो । प्रतियोगिताको उद्घाटन खेल आज दिउँसो साढे २ बजे आयोजक धरान फुटबल क्लब र भारतको जर्जियन क्लबबीच हुनेछ ।
आयोजकले यसपटक धरानकै स्थानीय खेलाडीलाई मैदान उतार्ने तयारी गरेको छ । भारतको जर्जियन क्लब भने बुढासुब्बा गोल्डकपमा पहिलोपटक सहभागी हुँदैछ ।
प्रतियोगितामा साविक विजेता एनआरटी, उपविजेता चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन क्लब, सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एसोसिएसन, झापा–११, भुटानको रोयल थिम्पु एफसी र आयोजक धरान फुटबल क्लब गरी १० टोली सहभागी हुनेछन ।
प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउनेछन्, जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने छ । भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा कूल १ करोड ७ लाख रुपैयाँ आम्दानी र ८७ लाख १५ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता आउँदो फागुन २ गतेसम्म चल्नेछ ।


