
काठमाडौं । आईसीसी टी–२० विश्वकप खेल्न भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो अभ्यास खेलमा युएईसँग खेल्दैछ । खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका सवा ५ बजे शुरु हुनेछ ।
यस्तै नेपालले अर्को अभ्यास खेलमा पर्सि बिहिवार क्यानडासँग खेल्नेछ । विश्वकपका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
यसअघि नेपालले श्रीलङ्कमा श्रीलङ्क ‘ए’ र भारतमा एमसीए प्रेसिडेन्ट–इलाभेनसँग समान ३ वटा अभ्यास खेल खेलेको थियो । नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल रहेको समूह ‘सी’मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् ।
नेपालले यही माघ २५ गते आइतवार इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ । टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा शुरू हुँदैछ ।


