२०८२ माघ १५ बिहिवार , ०४:५५:३६ बजे

Sajhamanch
'

भ्रष्टाचारको आरोपमा अमेरिकी क्रिकेटर आरोन जोन्स आईसीसीको निलम्बनमा

बिहिवार, माघ १५, २०८२

काठमाडौं । भ्रष्टाचारको आरोपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अमेरिकी ब्याटर आरोन जोन्सलाई निलम्बन गरेको छ ।

भ्रष्टाचारविरोधी नियम उल्लङ्घन गरेको आरोपमा आईसीसीले उनलाई तत्काल लागू हुने गरी सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको हो । आईसीसीले ३१ वर्षीय ब्याटर जोन्समाथि ५ वटा आरोप लगाउँदै आरोपबारे जवाफ दिन १४ दिनको समय दिएको छ ।

आईसीसी टी–२० विश्वकपको तयारीका लागि टोलीसँगै श्रीलङ्कामा बन्द प्रशिक्षणमा रहेका बेला उनी निलम्बनमा परेका हुन् । योसँगै उनले विश्वकप खेल्न नपाउने भएका छन् ।

जोन्समाथि सन् २०२३–२४ मा बार्बाडोसमा भएको ‘बीम–टेन’ प्रतियोगितामा खेलको नतिजा वा कुनै पक्षलाई अनुचित ढङ्गले प्रभावित पार्न खोजेको, मिलेमतोमा खेल्नका लागि आएका प्रस्तावहरू लुकाएको र छानबिनमा सहयोग नगरेकोलगायतका आरोप छ ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका आरोन जोन्सले अमेरिकाका लागि ५२ एकदिवसीय र ४८ टी–२० खेलेका छन् । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा उनले क्यानडासँगको खेलमा ४० बलमा ९४ रन र पाकिस्तानसँगको खेलमा २६ बलमा नटआउट ३६ रन बनाएका थिए । यो दुवै खेल अमेरिकाले जितेको थियो ।

जोन्सले सीपीएल, एमएलसी र बीपीएल जस्ता टी–२० फ्रेन्चाइज लिगहरूमा पनि खेलेका छन् । उनले सन् २०२५ को अप्रिलपछि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् ।

सम्बन्धित खबर