
झापा । टी–२० शृंखला गुमाइसकेको न्यूजिल्याण्डले चौथो खेलमा भारतलाई ५० रनले हराएको छ । पाँच खेलको शृंखला भारतले यसअघि नै जितिसकेको भए पनि हाल भारत ३–१ ले अगाडि छ । विशाखापट्टनममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ७ विकेट गुमाउँदै २१५ रन बनाएको थियो ।
न्यूजिल्याण्डका लागि टिम सिफर्टले ३६ बलमा ७ चौका र ३ छक्कासहित ६२ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, डेभोन कन्वेले २३ बलमा ४ चौका र ३ छक्का सहित ४४ रन बनाए । सिफर्ट र कन्वेले ८.२ ओभरमै १ सय रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए ।
भारतका लागि अर्शदीप सिंह र कुलदीप यादवले समान २–२ विकेट लिए । २१६ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ४ बलमा १६५ रनमै अलआउट भयो । भारतका लागि शिवम दुबेले २३ बलमा ३ चौका र ७ छक्कासहित ६५ रनको शानदार पारी खेले । शृंखलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिबार हुनेछ ।


