२०८२ माघ १५ बिहिवार , ०१:०९:११ बजे

Sajhamanch
'

टाइगर कप भलिबल च्याम्पियनसिपमा आर्मी र पुलिस विजयी

बिहिवार, माघ १५, २०८२

काठमाडौं । नेपाल आर्मीले छैटौँ टाइगर कप भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघलाई पराजित गरेको छ । पोखरामा चलिरहेको च्याम्पियनसिपको छैटौँ दिन हिजो भएको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ सेटले हराएको हो ।

पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट भने १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२ को जित निकाल्दै अग्रता बनाएको आर्मीले चौथो सेट १३–२५ ले गुमाएपछि खेल पाँचौँ सेटमा पुगेको थियो । निर्णायक पाँचौँ सेटमा आर्मीले २०–१८ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो ।

जितसँगै आर्मीले चार खेलबाट पाँच अंक जोडेको छ । पर्वतले समान चार खेलबाट नौ अंक बनाएको छ । चार खेल खेलेको गण्डकीको पनि नौ अंक छ । त्यस्तै, चार खेल खेलेको पुलिसको सात अंक छ । एपीएफको छ अंक छ भने माल्दिभ्स अंकविहीन रहेको छ ।

हिजै पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई पराजित गरेको छ । पुलिसले २५–२२, २८–२६ र २५–१५ को सोझो सेटमा जित निकालेको हो । यस्तै महिलातर्फ टिप–टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबसँग ३–० को सोझो सेटमा पराजित भएसँगै थाइल्याण्ड क्विन्स प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल पुलिस क्लब भने फाइनलमा प्रवेश गरेको छ । न्यु डायमण्डले १२ अंक जोड्दा चार खेलबाट सात अंक जोडेको पुलिसले अन्तिम दुईको यात्रा तय गरेको हो ।

थाइल्याण्ड क्विन्सले चार खेलबाट छ अंक जोडेको छ । टाइगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा भएको च्याम्पियनसिपमा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोलीको सहभागिता छ ।

सम्बन्धित खबर