
काठमाडौं । जावलाखेल युथ क्लबलाई हराउँदै नेपाल एपीएफ क्लब राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा एपीएफले जावलाखेललाई २–१ गोलले हरायो । एपीएफका समिराज थोकरले २ गोल गरे । जावलाखेलका धर्बेन्द्र कुँवरले गोल गरे ।
प्रतियोगितामा एपीएफको यो लगातार चौथो जीत हो । एपीएफले ४ खेलमा १२ अङ्क जोडेको छ । यस्तै जावलाखेलले चार खेलमा तेस्रो हार बेहोरेको छ ।
राष्ट्रिय लिग फुटबलमा आजै दोस्रो खेलमा एन्फा कम्प्लेक्समै दिउँसो ३ बजे चित्लाङ एफसी र मच्छिन्द्र एफसी खेल्दैछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १३६ खेल हुनेछन् ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।


