२०८२ माघ १० शनिवार , ०९:५२:०६ बजे

Sajhamanch
'

नेपाली महिला क्रिकेट : टेस्ट राष्ट्रमाथि पहिलो विजय

शनिवार, माघ १०, २०८२

काठमाडौँ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो विजय हात पारेको छ । नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा शनिबार पूर्ण राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको जिम्बावेले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १२९ रन बनाएको थियो । उपकप्तान पूजा महतोले अविजित अर्धशतक बनाएपछि नेपालले ३ बल अगाडि १३३ रन बनायो । पूजाले ५० बल खेली ४ चौका र २ छक्कासहित ५२ रन बनाइन् ।

नेपालको यस जितले सुपर सिक्समा पुग्ने झिनो आशालाई कायम राखेको छ । पहिलो पटक ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा खेलिरहेको नेपाल पहिलो जित हात पारेको हो । नेपाल पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित गरेको थियो ।

नेपाललाई विजय दिलाउन जिम्बावेको अनियन्त्रित बलिङले पनि ठूलो सहयोग गरेको थियो । नेपालले अतिरिक्तमा २० रन पाएको थियो, जसमा जिम्बावेका बलरले वाइडमा १९ दिएका थिए ।

सम्झना खड्का ७ बलमा १ चौका प्रहार गरी ९ र विन्दु रावल १७ बलमा २ चौका प्रहार गरी १५ रनमा आउट भइन् । त्यसपछि कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोले तेस्रो विकेटमा ३५ रनको महत्त्वपूर्ण साझेदारी गरिन् । जोसेफिन एनकोमोको बलमा एज लागेर बोल्ड भएकी इन्दुले २२ रन बनाइन् । इन्दुले २३ बल खेली २ चौका र १ छक्का प्रहार गरिन् ।

कविता जोशी पनि १ रनमा बोल्ड भइन् । सीता रानामगर ११ रनमा रिटायर्ड हर्ट भइन् । उनले सो क्रममा महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिमा एक हजार रन पूरा गरिन् । यो सफलता पाउने उनी नेपालकी तेस्रो खेलाडी हुन् । यसअघि इन्दु र पूजाले नेपालबाट १ हजार रन बनाइसकेकी छन् । रुविना क्षेत्री २ रनमा अविजित रहिन् ।

सम्बन्धित खबर