२०८२ माघ ७ बुधवार , ०१:४८:०० बजे

Sajhamanch
'

कोशीका २८ क्षेत्रमा ५०८ उम्मेदवार चुनावी मैदानमा

बुधवार, माघ ७, २०८२

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशभर चुनावी सरगर्मी बढेको छ ।

प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा कुल ५०८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसले यसपटकको निर्वाचनमा प्रतिस्पर्धा असाधारण रूपमा बढेको देखिन्छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उम्मेदवार संख्या थपघट हुन्छ । अन्तिम नामावली प्रकाशनपछि मात्रै उम्मेदवारको संख्या यकिन हुने कार्यालयले जनाएको छ ।

प्रदेशभरका अधिकांश निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलका उम्मेदवारसँगै स्वतन्त्र र साना दलका उम्मेदवारको उल्लेखनीय उपस्थिति देखिएको छ । यसले मतदातालाई विकल्प दिने मात्रै नभएर चुनावी बहस र राजनीतिक चासोलाई पनि व्यापक बनाएको छ ।

विशेष गरी सहरी क्षेत्र र राजनीतिक रूपमा संवेदनशील मानिने निर्वाचन क्षेत्रमा उम्मेदवारको संख्या अपेक्षाभन्दा धेरै रहेको निर्वाचन कार्यालयले जनाएको छ । सबैभन्दा बढी उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा परेको छ । जहाँ ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसले सो क्षेत्रलाई प्रदेशकै सबैभन्दा प्रतिस्पर्धी निर्वाचन क्षेत्र बनाएको छ । सुनसरी जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा गरी १०९ जनाले उम्मेदवारी दिएका छन् ।

सुनसरी १ मा २६, क्षेत्र २ मा २८, क्षेत्र ३ मा २२ र क्षेत्र ४ मा ३४ जनाको उम्मेदवारी परेको छ । औद्योगिक, सहरी र ग्रामीण क्षेत्रको मिश्रण रहेको सुनसरीमा यसपटक राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कुल ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मोरङ १ मा १८, मोरङ २ मा १७, मोरङ ३ मा २१, मोरङ ४ मा २०, मोरङ ५ मा २२ र मोरङ ६ मा २० जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश राजधानी विराटनगर समेटिएको मोरङमा राजनीतिक गतिविधि सधैं चर्को रहने गरेको छ । यसपटक पनि उम्मेदवारी संख्याले मोरङलाई कोशी प्रदेशको केन्द्रबिन्दुमा राखेको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । झापा क्षेत्र नम्बर १ मा १५, क्षेत्र २ मा १८, क्षेत्र ३ मा १७, क्षेत्र ४ मा १६ र क्षेत्र ५ मा २४ जनाको उम्मेदवारी परेको छ ।

झापाको अन्य क्षेत्रमा भन्दा क्षेत्र नम्बर ५ मा उम्मेदवारको संख्या तुलनात्मक रूपमा धेरै देखिएको छ । जसले त्यहाँ चुनावी प्रतिस्पर्धा थप रोचक हुने संकेत गर्छ ।

झापा ५ मा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बालेन्द्र साह (बालेन) लगायतको उम्मेदवारी परेको छ । राजनीतिक रूपमा सक्रिय र संगठित मतदाता रहेको झापामा यसपटक दलहरूबीचको टक्करसँगै स्वतन्त्र उम्मेदवारले पनि प्रभाव पार्ने सम्भावना देखिन्छ ।

२–२ निर्वाचन क्षेत्र रहेका उदयपुर र इलाममा पनि उल्लेखनीय संख्यामा उम्मेदवारी परेको छ । उदयपुरमा कुल ३१ जनाले उम्मेदवारी दिएका छन् । उदयपुर १ मा १८ र उदयपुर २ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

इलाममा कुल २७ जनाले उम्मेदवारी दिएका छन् । इलाम १ मा १३ र इलाम २ मा १४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । इलाममा स्थानीय मुद्दा, विकासका सवाल र पहिचानका विषय चुनावी बहसको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।

१–२ निर्वाचन क्षेत्र मात्र रहेका पहाडी तथा हिमाली जिल्लाहरूमा पनि प्रतिस्पर्धा कमजोर छैन । ताप्लेजुङमा १३, पाँचथरमा १५, संखुवासभामा १६, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङमा १५ र ओखलढुंगामा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

भौगोलिक रूपमा विकट मानिने यी जिल्लामा उम्मेदवारको संख्या उल्लेखनीय हुनुलाई राजनीतिक चासो र सहभागिताको संकेतका रूपमा हेरिएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

अब उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन, उजुरी दर्ता र छानबिन, अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया पूरा भएपछि औपचारिक चुनावी प्रचार तीव्र हुने अपेक्षा गरिएको छ ।

उम्मेदवारको संख्या हेर्दा कोशी प्रदेशमा यसपटकको प्रतिनिधिसभा निर्वाचन दलगत प्रतिस्पर्धामा सीमित नरही बहुआयामिक र बहुपक्षीय बन्ने संकेत मिलेको छ ।

सम्बन्धित खबर