२०८२ पौष १७ बिहिवार , ११:५७:३० बजे

Sajhamanch
'

नेकपा एमाले धुलो टकटक्याएर र खरानी बढारेर उठ्न सफल भएको छ : एमाले सचिव कार्की

बिहिवार, पौष १७, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीले भदौ २३ र २४ गतेको विध्वंशात्मक घटना पछि पनि नेकपा एमाले ठिंग उभिन सफल भएको बताउनु भएको छ । केही राजनीतिक दलहरू अझै उठ्ने प्रयासमै रहेको र कतिपय दल हावामा नै दौडिरहेको सन्दर्भमा एमालेले महाधिवेशन नै गरेर आफू ठिंग उभिएको प्रमाणित गरिसकेको प्रष्ट पार्नुभएको हो ।

प्रेस चौतारी नेपाल, मोरङ कार्यसमितिले आयोजना गरेको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार वितरण तथा नेकपा एमालेको ११औं महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य एवम् आयोग सदस्यमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनु भएको हो ।

उहाँले नेकपा एमाले धुलो टकटक्याएर र खरानी बढारेर उठ्न सफल भएको भन्नुहुँदै उभिनु नै अहिलेको अवस्थामा ठूलो सफलता भएको धारणा राख्नु भयो ।

वर्तमान मुलुकको परिस्थितिलाई मूल्यांकन गर्दा निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा हुने सम्भावना अझै प्रस्ट नभएको कार्कीको बुझाई छ । उहाँले निर्वाचनले मात्र नेपालको विद्यमान समस्याको समाधान गर्छ भन्ने ग्यारेन्टीसमेत नरहेको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो निर्वाचनले पनि वर्तमान जटिलताको समाधान गर्छ भन्ने छैन। संसद पुनर्स्थापना गरेर अहिले उठेका मागलाई सम्बोधन गरेर अगाडि बढियो भने मात्रै समस्याको समाधान हुन्छ। नेकपा एमाले संसद पुनर्स्थापनाको पक्षमा अझै पनि दृढ रहेको’ उहाँले दोहोर्‍याउनु भयो।

प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ उदयपुरकी पत्रकार रेणु पराजुलीलाई प्रदान गरेको छ । पराजुलीलाई नगद २१ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यसैगरी चौतारी मोरङले नेकपा एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, दिलिप बगडिया, शिल्पा निराला कार्की र अनुशासन आयोग सदस्य राजमती इङनामलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सम्बन्धित खबर