
काठमाडौं । आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावका लागि १२० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आयोगका अनुसार दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि हिजो १४ गतेसम्मको अवधिमा दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि १२० वटा निवेदन प्राप्त भएको हो । आयोगले तोकेको कार्यतालिकाअनुसार दर्ता निवेदनहरूको आवश्यक जाँचबुझ, छानबिन र कानुनी योग्यता परीक्षण पूरा गरिने छ ।
योग्यता पुगेका राजनीतिक दललाई मंसिर २० गतेभित्र दर्ता स्वीकृति प्रदान गरिने आयोगले जनाएको छ । चुनावमा सहभागी हुने दलहरूको दर्ता व्यवस्थापन, चुनाव चिन्ह वितरण र अरु प्रक्रिया कानुन बमोजिम पारदर्शी रूपमा अघि बढाइने आयोगको भनाइ छ ।


