
मकवानपुर । नवयुवाको पछिल्लो आन्दोलनका क्रममा बागमती प्रदेशका धेरै मन्त्रालयका भवनहरू जलेर नष्ट भएपछि सास्ती भएको छ । गएको भदौ २३ र २४ गते मकवानपुरको हेटौँडा क्षेत्रमा रहेका प्रदेशको स्थायी मन्त्रालय भवनमध्ये धेरैजसोमा आगजनी भएको थियो ।
क्षतिग्रस्त खानेपानी, ऊर्जा तथा सिँचाइ, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक, यातायात, स्वास्थ्य लगायतका धेरै मन्त्रालयको वैकल्पिक ठाउँ खोज्दै सारिएको छ । भाडामा सञ्चालन भइरहेका र केही अरू दुई–चार मन्त्रालयबाहेक प्रायः सबै मन्त्रालय आन्दोलनकै क्रममा जलेका थिए ।
अहिले कुनै मन्त्रालय जिल्ला तहका कार्यालयका हाकिमको क्वाटरमा छन् भने केही पुरानै जिल्ला कार्यालय भवनका कोठामा गुजुल्टिएर सेवा दिइरहनु परेको हुँदा समस्या भएको कर्मचारीले बताएका छन् ।
मन्त्रालय भवनहरू नष्ट भएपछि कर्मचारीलाई कार्यक्षेत्र सुरक्षित राख्नदेखि सेवा–प्रवाह सञ्चालन गर्नसम्म निकै कठिनाइ भएको छ । साँघुरा कोठा, आवश्यक पूर्वाधार अभाव, गोप्य कागजपत्र सुरक्षित राख्न चुनौती र सार्वजनिक सेवाग्राही समेत हैरान हुने अवस्था बनेको कर्मचारी बताउँछन् ।
जिल्लास्तरका कार्यालयको हाकिमको पुरानो क्वाटरमा मन्त्रालय राख्नुपर्दा निकै समस्या भएको खानेपानी ऊर्जा, तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मेघराज अवस्थीले बताउनुभयो । अब दुईरतीन महिनाभित्रै मन्त्रालयको जलेको भवनको मर्मत कार्य सक्ने र भवन मर्मतको काम सकिएपछि त्यही भवनमा मन्त्रालय सार्ने योजना छ ।
बागमती प्रदेशको राजधानी हेटौँडामा यति ठूलो प्रशासनिक अवरोध सिर्जना भए पनि प्रदेश सरकारले स्थायी भवन पुनर्निर्माण र दीर्घकालीन समाधानबारे अझै ठोस योजना सार्वजनिक गर्न सकेको छैन । प्रदेशसभा दोस्रो कार्यकालमा प्रवेश गरिसक्दा पनि स्थायी संरचना कहाँ निर्माण गर्ने भन्ने विषय अझै अनिश्चितकै अवस्थामा छ ।


