२०८२ मंसिर २, सोमवार , १२:२३:१७ बजे

Sajhamanch
'

कोशीका मुख्यमन्त्री र दुई मन्त्रीसँग सुशासनका विषयमा अर्थ समितिले माग्यो जानकारी

सोमवार, मंसिर २, २०८२

विराटनगर । कोशी प्रदेशसभाको अर्थ समितिले प्रदेश सरकारको कामकारबाही, बजेट कार्यान्वयन र सुशासनलगायत समसामयिक विषयमा मुख्यमन्त्रीसहित दुई जना मन्त्रीहरुसँग छलफल गरी जानकारी लिएको छ ।

कोशी प्रदेशसभा सचिवालय कटहरीमा बसेको समितिको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरसँग छलफल गरेको हो ।

सुशासन, भ्रष्टाचार नियन्त्रण, चालु वर्षका लागि विनियोजन गरिएको हालसम्मको बजेट खर्च र राजस्व संकलनको अवस्था, संविधानको कार्यान्वयनमा देखिएका चुनौतीहरू, र मुख्यमन्त्री तथा मन्त्रीहरूको काम, कर्तव्य र जिम्मेवारीका सम्बन्धमा भइरहेको काम र प्रगतिका बारेमा समितिले सरकारसँग जानकारी माग गरेको समितिका सभापति विनोद वान्तवा राईले जानकारी दिनुभयो ।

छलफलका क्रममा प्रदेशसभा भवनमा भएको आगजनी र त्यसपछि सरकारले प्रदेश सभा सञ्चालन र प्रदेशसभाको स्थायी संरचना निर्माण गर्ने विषयमा गरिरहेको कामको बारेमा पनि चासो राखिएको थियो ।

त्यस्तै प्रदेशले व्यहोर्दै आएको कर्मचारीको अभाव तथा व्यवस्थापन र स्थानीय तहमा बजेट निकासामा भइरहेको ढिलासुस्ती भइरहेकोप्रति पनि समितिले सरकारको ध्यानाकर्षण गराइएको थियो ।

सभापति राईले भन्नुभयो, ‘‘आज हामीले सरकारका प्रतिनिधिहरूसँग विस्तृत छलफल गर्‍यौं । उहाँहरूका कुरा सुन्यौं र समितिको तर्फबाट प्रश्नहरू राख्यौं ।’’ उहाँका अनुसार, आइतबारको बैठकमा छलफल भए पनि राति परेकाले लिखित निर्णय गर्न नसकिएको र सरकारलाई औपचारिक रूपमा लिखित निर्देशन तथा ध्यानाकर्षण पत्र पठाइनेछ ।

सम्बन्धित खबर