
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गर्नुभएको छ ।
जेन–जी आन्दोलनपछि पहिलो पटक बजार खुल्दा हिजो केही बेरमै नकारात्मक ‘सर्किट ब्रेक’ लागेर कारोबार नै स्थगित भएपछि अर्थमन्त्री खनालले चार सदस्यीय कार्यदल गठन गर्नुभएको हो । खनालले आज मन्त्रीस्तरीय निर्णयमार्फत धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहने गरी कार्यदल गठन गर्नुभएको हो ।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का कायममुकायम कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहनुभएको छ ।
कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पाँच दिनभित्र पेश गर्नुपर्नेछ ।
हिजो शेयर बजार परिसूचक नेप्से १६० अङ्कले घट्दा लगानीकर्ताले २ खर्ब ६८ अर्ब रुपैयाँभन्दा धेरै शेयर सम्पत्ति गुमाएका थिए ।