
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ शुरू भएयता घरजग्गाको कारोबार घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षमा केही चलायमान देखिएको घरजग्गा कारोबार फेरि घट्न थालेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्याङ्क अनुसार साउन महिनामा कारोबार घटेकोमा भदौको दोस्रो हप्तासम्म पनि गिरावट नै छ । अघिल्लो वर्ष साउनमा नेपालभर ४३ हजार ८३५ वटा घरजग्गा कारोबार भएको थियो । गएको साउनमा भने ३१ हजार ६२१ वटा मात्रै घरजग्गा कारोबार भएको छ ।
यो अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा २८ प्रतिशतले कम हो । गएको आर्थिक वर्षमा नेपालभर ५ लाख ९० हजार ५४३ वटा घरजग्गा कारोबार भएको थियो ।
घरजग्गाको कारोबार अहिले निराशाजनक रहेको व्यवसायीले बताएका छन् । लचिलो मौद्रिक नीतिले घरजग्गा कारोबार बढ्ने अपेक्षा गरे पनि कित्ताकाट रोकिँदा ठूलो समस्या आएको नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार पालिकाले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट पनि हुन सकेको छैन । त्यसबाट घरजग्गा कारोबार प्रभावित भएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष घिमिरेका अनुसार कित्ताकाट रोकिनु र बन्द हुनु सरकारकै कुरा हो । सरकारले अब पनि कित्ताकाट नखुलाए अझ समस्या बढ्ने उहाँको भनाइ छ ।